सिन्धुली, – सुनकोसी गाउँपालिका २ झाँगाझोली रातमाटाकी सरस्वती चौलागाई पनि एक दशक अगाडीसम्म गाँउमा एक हजार रुपैया ऋणसम्म कसैले नपत्याउदा रोएको झल्झली सम्झनु हुन्छ । “कुनै समय ससुराले लिएको १० हजार तिर्नका लागि ऋण नपाएर रोएको थिए, आज सहकारीले सहजै ऋण दिएको देख्दा मनको खुसी पोख्ने स्थान नै छैन,” उहाँले भन्नुभयो, “चार बर्षअघि महिलाहरुकै सक्रियतामा गाँउमा खुलेको दिपमाला महिला बचत तथा ऋण सहकारी संस्थामा अबद्ध भई तरकारी खेती गर्न सुरु गरेपछि मेरो उन्नतीको बाटो खुल्यो ।”
“अब १० हजार रुपैया होईन, एक लाख ऋण लिनु र दिनु मेरो लागि सामान्य बनेको छ,” उहाँले भन्नुभयो, “सहकारीबाट सुरुमा १० हजार ऋण लिएर तरकारी खेती गर्न थालेपछि त्यहि १० हजारले लाखौ आम्दानी गर्ने बाटो देखायो । मेहनतको फल पनि मिठो हुन्छ, आलु बेचेर मात्र मैले डेढ लाख कमाएको छु ।”
त्यस्तै, गाँउमा खुलेको सहकारीबाट सानो ऋण लिएर दुई बर्ष अघि सामान्य कस्मेटिक पसल सञ्चालन गर्नु भएकी सुनकोसी गाँउपालिका–६ सित्तलपार्टी निवासी कमला माझीको जीवनमा अहिले निकै आर्थिक परिर्वतन आएको छ ।
गाँउकै ज्योति महिला बचत तथा ऋण सहकारीबाट ३० हजार ऋण लिएर लिएर सुरु गरेको कस्मेटीक पसलबाट भएको फाईदालाई थप लगानी गरी उहाँले अहिले किराना पसल पनि सञ्चालन गर्नु भएको छ । “कस्मेटीक पसलमा म बस्छु, किराना पसलमा श्रीमान् बस्नु हुन्छ,” उहाँले भन्नुभयो, “दुई वटै पसलबाट राम्रै कमाई हुन्छ, मलाई साहुनी बनाउने देन पुख्र्यौली सम्पत्तिको नभई सहकारीको नै हो ।”
दुईवटै पसलबाट अहिले मासिक रुपमा कम्तिमा पनि ३० हजार रुपैया कमाई(नाफा) हुने गरेको उहाँले जानकारी दिनुभयो । त्यसो त कमलाको सम्पत्तिको नाममा सामान्य एउटा घर भन्दा बाहेक केही छैन । बिहान खाए बेलुका के खाने भन्ने दैनिक समस्या भोग्दै आउनु भएकी कमलाको जीवनस्तरमा सहकारीले निकै परिबर्तन ल्याएको स्थानीय बासिन्दा बताउछन् ।
पछिल्लो समय सिन्धुलीको ग्रामीण क्षेत्रका गाँउ–गाँउमा खुलेका सहकारीले महिलाको जीवनमा कायापलट नै ल्याएको छ । विभिन्न सामाजिक सङघ संस्थाले सहजिकरण गरेर जिल्लाका ग्रामीण क्षेत्रमा खुलेका सहकारीमा आबद्ध महिलाहरु अधिकांश व्यवसायीक बनेका छन् । गाँउमै रहेको सहकारीले सहजै ऋण दिन थालेपछि महिलाहरुलाई व्यवसायीक बन्न सजिलो भएको हो ।
सहकारीले महिलाहरुलाई व्यवसायीक मात्र बनाएको छैन, गाँउमा आफ्नो अधिकार स्थापीत समेत गराएको छ । “पहिले हामी सहकारीको काम छ भनेर सहकारीको बैठकमा हिड्दा गाँउका पुरुषले छाडा महिला भनेर खिल्ली उडाउथे, अहिले तिनै पुरुषले नमस्कार भन्दा धेरै खुसी लाग्छ,” कमलामाई नगगरपालिका–३चपौलीकी दुर्गा कार्कीले थप्नुभयो ।
उहाँले पनि गाँउकै जलकन्या महिला बचत तथा ऋण सहकारी संस्थाबाट दश हजार ऋण लिएर बाख्रा पालन सुरु गरि हाल लाखौ रुपैँयाको कारोबार गर्दै आउनु भएको छ । दुई÷तीन सन्तानका आमा भइसकेका महिलाहरु अधिकांश सहकारीमा आवद्ध छन् ।