शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा जंगली कुरिलोको व्यवसायिक खेती

बिहिवार , मंसिर १८, २०७७

सिन्धुली,१८ मंसिर – सिन्धुली जिल्लामा जंगली कुरिलोको व्यवसायिक खेती हुन थालेको छ । अन्य खाद्यन्न बालि तथा तरकारी र नगदेवालीमा भन्दा धेरै आम्दानी हुने भएपछि व्यावसायिक कुरिलो खेती तर्फ आकर्षित हुन थालेको जिल्लाका किसानहरुले बताएका छन् ।

विभिन्न संघ, संस्था, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ तथा निजी क्षेत्रको पहलमा कुरीलो खेतीका लागि बिउ—विजनका साथै आर्थिक तथा प्राविधिक सहयोगमा करिब एक सय ६० रोपनी क्षेत्रफलमा कुरीलो खेती हुँदै आएको बताईएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ अनुसार जिल्लाको कमलामाई नगरपालिका, टाँडी, लाम्पानटार, भद्रकाली, रतनचुरा, लगायतका दर्जनौ ठाँउमा कुरिलोको खेती गरिएको छ । हाल जिल्लामा दुई लाख ८० हजारको संख्यामा कुरीलोको विरुवाहरु लगाईएको छ ।

कुरिलो खेतीबाट आफ्नो जमिनमा एक पटक लगाएमात्र पनि वषौंसम्म उत्पादन लिन सकिने र वर्षको दुई पटकसम्म गोडमेल तथा सिँचाई गरि दिए यसबाट कम्तीमा १८ वर्षसम्म उत्पादनसँगै आम्दानी लिन सकिने कृषि प्राविधिकहरु बताउछन् ।

लामो समयदेखि नै व्यवसायिक रुपमा कुरिलो खेती गर्दै आएका कमलामाई नगरपालिका–४ मधुटारका कृषक रामबाबु शाहले वार्षिक एक लाख ८० हजारको सं्ख्यामा विरुवा उत्पादन गरी बिक्री गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्म कुरिलोको नर्सरी गरी बिरुवा उत्पादन गरेर खेती गरी बीचमा छाड्को थिए । अब फेरी खेती गर्दै छु ।”

कुरिलो खेतीबाट मनग्य आम्दानी हुने भएपछि आफुले विरुवा उत्दानसँगै जिल्लाका विभिन्न ग्रामीण क्षेत्रका कृषकहरुलाई बिरुवा पु¥याई वितरण गरेको उहाँले बताउनुभयो । जिल्लामा व्यावसायिक कुरिलो खेती प्रबद्र्धनका लागि निजी क्षेत्रको प्रियङका ट्रेडर्सले सघाउदै आएको छ । ट्रेडर्सले स्थानीय कृषकहरुका लागि निःशुल्क कुरिलोको विरुवा उपलब्ध गराउनुको साथै आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको जनाएको छ ।

ट्रेडर्सले आगामी दिनबाट वार्षिक तीन लाखको संख्यामा विरुवा वितरण गर्ने लक्ष्य लिएको छ । जिल्लाका कृषकहरुलाई पहिलो चरणमा बिउ उत्पादन गर्ने उद्देश्यले कुरिलो खेती गर्न प्रोत्साहित गरिएको ट्रेडर्सका सञ्चालक समेत रहेका कृषक शाहले जनाउनुभयो । हाल जिल्लामा जंगली कुरिलोको अर्धप्रशोधित प्रतिकेजी तीन सय रुपैयासम्ममा विक्री हुँदै आएको छ ।

उहाँले भन्नुभयो, “कुरिलो प्रतिकेजी पाँचसय रुपैयासम्म मूल्य पुगेको थियो । अहिले तीन सय रुपैयामा झरेको छ । भारतमा उत्पादन धेरै भएकोले त्यस्को असर नेपालमा परेको छ ।” कृषक साहका अनुसार कुरिलोको बिरुवा प्रतिगोटा पाँच रुपैयाका दरले बिक्री हुने गरेको छ । २०६६ सालदेखि नै आफुले कुरिलोको खेती गर्दै आएको जानकारी दिदै उहाँले अब कुरिलो खेतीसँगै टिमुर, सर्पगन्धा र सुगन्धकोकिलाको पनि नर्सरी गेर्ने योजना रहेको बताउनभुयो ।

सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष हितलाल श्रेष्ठ कुरिलो खेतीका लागि डिभिजन वन कार्यालयसँग कार्यक्रम रहेको र उक्त महासंघले किसानलाई सम्झौता गराउने, समन्वय गर्ने जस्ता गतिविधि गर्दै आएको बताउनुभयो । जंगलतिर र बारीको छेउछाउ नै प्रशस्त कुरिलो पाईने उहाँले बताउनुभयो ।

यता कृषि ज्ञान केन्द्रका प्रमुख भरत बिडारी भने उक्त केन्द्रमा कुरिलो खेतीको रेकर्ड नै नभएको बताउनु हुन्छ । जिल्लामा कुरिलो खेती नभएकोले रिपोर्टिङ नभएको हुन सक्ने उहाँले अनुमान लगाउनुभयो । जिल्लामा कुरिलो खेती गर्नेले वार्षिक रुपमा न्युनतम २० हजार रुपैयाँदेखि एक लाख ६० हजार रुपैयाँसम्म आम्दानी लिने गरेको कृषकहरुको भनाई हरेको छ ।

न्युन लागानीमा धेरै आम्दानी गर्न सकिने भएकाले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन सकिने कृषक स्वयमले बताउने गरेका छन् । विपन्न कृषकहरुका लागि पनि आम्दानीको राम्रो स्रोत बन्ने भएकाले यसको व्यवसायिक खेती र विस्तार गर्न सके कुरिलो खेतिको माध्यमबाट पनि गरिबी न्युनिकरणमा सहयोग पुग्ने कृषकको भनाई पाईन्छ ।

प्रतिक्रिया