सिन्धुली,४ कार्तिक – सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा करदाता सेवा कार्यालय स्थापना भएको छ ।
उक्त कार्यालयले मंगलबार जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयलाई स्थायी लेखा नम्बर (प्यान) दिएर सेवा शुभारम्भ गरेको हो । करदाता सेवा कार्यालयको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले उद्घाटन गर्नुहुदै जिल्लाका करदाता सेवाग्राहीलाई सरल तरिकाले सेवा दिनु पर्ने बताउनुभयो ।
करदाता मैत्री प्रशासनका रुपमा अगाडी बढाउन निर्देशन दिनुहुदै उहाँले बढीभन्दा बढी करदातालाई समेटेर राजश्व संकलनमा जोड दिनु पर्ने बताउनुभयो । उक्त कार्यालय स्थापनासँगै सेवाग्राहीलाई यसअघि जिल्लामा उक्त कार्यालय नहुदा कर सम्बन्धि कामका लागि आन्तरिक राजश्व कार्यालय जनकपुर धाउनु पर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।
करदाता सेवा कार्यालय सिन्धुलीका प्रमुख चन्द्र दाहालले कार्यालयले सेवा शुभारम्भ गरेको जानकारी दिदै सेवाग्राहीलाई छिटो छरितो तरिकाले सरल रुपम सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
करदाता सेवा कार्यालय स्थापना भएसँगै व्यवसायिहरु डराएको बताउदै सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अम्रेशचन्द्र बैदारले भन्नुभयो, “उक्त कार्यालय खुल्दैमा डराई हाल्नु पर्दैन । जस्ले कर छलीगर्ने जस्ता अवैद्य गतिविधि गरेका छन्, त्यस्ता व्यवसायि त डराउनु स्वभाविक नै हो । ईमान्दार काम गर्नेलाई केही हुदैन ।”

नराम्रो काम गर्नेले कारबाही भोग्नै पर्ने बताउदै उहाँले जिल्लामा स्थापना भएको करदाता सेवा कार्यालयको सिन्धुली उद्योग बाणिज्य सङघले स्वागत गरेको सुनाउनुभयो । करदाता कार्यालय स्थापनासँगै सेवाग्राहीलाई कर तिर्नकै लागि जनकपुर धाउनु पर्ने बाध्यताबाट मुक्ति मिलेको संघका अध्यक्ष बैदारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “समय र खर्चको बचतसँगै छिटोछरितो ढंगबाट अब सेवा लिन पाईने भएको छ । जनताको सहज रुपमा काम हुने भएको छ ।” लामो समयदेखि करदाता सेवा कार्यालयको माग हुदै आएको सिन्धुली जिल्लामा भर्खर उक्त कार्यालय स्थापना भएको छ ।
करदाता कार्यालयमा एक जना कर अधिकृत, दुई जना नायब सुब्बा, एक जना सुपरभाईजर, एक जना चालक र एक जना कार्यालय सहयोगीको दरबन्दि रहेको कार्यालय प्रमुख दाहालले जानकारी दिनुभयो ।
उक्त कार्यालय उद्घाटन समारोहमा वडा नम्बर ५ का अध्यक्ष पूर्णबहादुर खड्का, प्रमुख कोष नियन्त्रक हेमराज पौडेल, आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत चन्दन कर्ण, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की र गैर सरकारी संस्था महासंघका अध्यक्ष बेदराज दाहालको उपस्थिती रहेको थियो ।