शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आँटीको उत्पादनसँगै सिन्धुलीका किसान मख्ख

बिहिवार , आश्विन १५, २०७७

सिन्धुली,१५ असोज – ‘विचौलियाबाट बच्न हामी आफ्नो उत्पादन आफैं बेच्छौं,’ यो भनाइ सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा आँटी बेच्दै गर्नुभएका इन्द्रबहादुर मगरको हो । सुनकोशी गाउँपालिका–४ लखनपुरका किसान मगरको बारीका काल्लामा सानोठूलो गरी सयभन्दा बढी आँटीको बोट उम्रिएका छन् । यसमध्ये ६० वटा बोटमा अहिले आँटीका दाना लटरम्म फलेका छन् । उहाँ यही आँटी बिक्री गर्न वीपी राजमार्ग अन्तर्गत बोहोरेटारमा धाउनु हुन्छ ।

बोटमा नै किन्न पुग्ने व्यापारीले राम्रो मूल्य नदिने भएपछि तीन बर्षदेखि आफै बेच्न आउने गरेको उहाँले बताउनुभयो । ‘व्यापारी बोटमा नै पुग्छन्, आँटी किन्न,’ किसान मगरले भन्नुभयो, ‘व्यापारीले प्रतिकिलो ३०/४० रुपैयाँभन्दा बढी दिदैनन्, आफ्नो उत्पादन आफै बेच्दा प्रतिकिलो १५० देखि १६० रुपैयाँसम्ममा विक्रि हुन्छ ।’

वर्षौंसम्म मिहिनेत नगरी नै फल्ने आँटीको पछिल्लो समय बजारमा माग पनि बढेको उहाँले बताउनुभयो । मल ,विषादी प्रयोग गर्नु नपर्ने र आफै उम्रिएको अर्गानीक फल आँटी बेचेर दिनमा छ हजारदेखि दश हजारसम्म आम्दानी लिने गरेको उहाँले बताउनुभयो ।

वीपी राजमार्गसंगै भित्रिसडकहरु विस्तार भएपछि पहिले जस्तो किसानका उत्पादनले बजार नपाउने समस्या नरहेको उहाँको भनाइ छ । आँटीले अघिल्ला बर्षहरुमा भन्दा अहिले भाउ पाएकाले किसानको आम्दानी बढेको सुनकोशी गाउँपालिका वडा नम्बर–४, लखनपुर निवासी शान्ता श्रेष्ठले बताउनुभयो । विगतका बर्षमा खाएको खायो, नखाईसकेको कुहिएर सकिन्थ्यो । उहाँले भन्नुभयो, ‘पहिला त्यत्तिकै खेर जाने आँटीबाट अहिले राम्रो कमाई हुन थालेको छ ।’

सुनकोसी गाँउपालिका–६ सित्तलपाटी चैनपुरका बिरबहादुर सार्की चार वर्षदेखि आफुले पनि प्रत्येक वर्ष सिजनमा आँटी बिक्री गरि १५/१६ हजार रुपिया आम्दानी गर्दै आएको बताउँनुहुन्छ । ‘केही बर्ष पहिलेसम्म आफैंले ढाकर, डोकोमा बोकेर सिन्धुली सदरमुकाम पुर्‍याउन पथ्र्यो, त्यो बेला एक ढाकर आँटीबाट दुई हजार पनि आम्दानी हुदैन थियो’ उहाँले भन्नुभयो, ‘अहिले त फल्न मात्र पर्‍यो, बजारको समस्या छैन ।’

यतिबेला बोहोरेटारमा आँटीको बजार नै लागेको छ । यहाँ प्रत्येक बर्ष भदौदेखि कात्तिकसम्म किसानहरु आँटी विक्रि गर्न आउँछन् । आँटीको उत्पादन सुनकोशी गड्तीर क्षेत्रमा हुन्छ । यस क्षेत्रका किसान पछिल्लो समय आँटीले राम्रो बजार पाउन थालेपछि खुशी छन् । कम लगानीमा उत्पादन हुने फल आँटीबाट राम्रो आम्दानी हुन थालेपछि सुनकोशीका झन्डै पाँचसय बढी किसानहरुको जिवनस्तर फेरिएको छ ।

सुनकोशी गाउँपालिका प्रमुख दिपा बोहोरा दाहालले आँटीले बजार राम्रो पाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आँटीले बजार त पायो तर यसको उत्पादन कम हुँदै गएको छ ।’ उहाँका अनुसार दल राखेर अहिलेसम्म पनि यहाँका किसानले आँटीको बिरुवा उमारेका छैनन् । कम लगानी र मेहनत विना नै यो आफैँ उम्रिन्छ र फल्छ । यसको व्यवसायिक उत्पादनका लागी किसान लाग्नु पर्ने र यसका लागि किसानलाई सहयोग गर्न आफ्नो पालिका लाग्ने उहाँले बताउनुभयो ।

यहाँका किसानहरु आँटीसंगै अन्य मौसम अनुसारका अम्बा लगायतका फलफूल र तरकारी बेचेर पनि आय–आर्जन गर्दै आएका छन् । जापान सरकारको सहयोगमा वीपी राजमार्ग निर्माण भएपछि दैनिक हजारौँ यात्रुको आवात–जावत बढेकाले स्थानीय उत्पादनले बढवा पाएको छ ।

प्रतिक्रिया