शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

टनेलभित्र गरेको गोलभेंडा खेतीबाट मनग्ये आम्दानी

बिहिवार , आश्विन १५, २०७७

बेमौसमी खेती : सिन्धुली जिल्लाको गोलान्जोर गाँउपालिका स्थित रतनचुरामा प्लाष्टिकको घर(टनेल) भित्र गरेको गोल्भेडाखेती ।

चपौली(सिन्धुली),१५ असोज – सिन्धुली जिल्लामा ग्रामीण क्षेत्रका कृषकहरुले पछिल्लो समयमा प्लाष्टिकको टनेलभित्र बेमौसमी गोलभेंडा खेती गरेर मनग्ये आम्दानी लिन थालेका छन् । जिल्लामा क्रि यासिल विभिन्न गैर सरकारी संघ सस्थाले कृषकहरुलाई बेमौसमी तरकारी खेतीको तालिम दिई आवश्यक प्रविधि तथा बिउबिजन उपलब्ध गराएपछि कृषकहरु त्यसतर्फ आकर्षित भएका हुन् । सदरमुकाम सिन्धुलीमाढी आउदा प्लाष्टिकको झोलामा एक/दुइ किलो गोलभेडा ल्याइ छाक टार्ने सबैजसो कृषकको खेतबारीमा यतिखेर गोलभेंडा विक्रीकै लागि उत्पादन हुने गरेको छ । सदरमुकाम सिन्धुलीमाढी बाहिरका गाँउमा प्लाष्टिकको टनेलभित्र उत्पादन गरेको बेमौसमी गोलभेंडा कृषकहरुले सदरमुकामसम्म ल्याएर प्रतिकेजी ९० रुपैयासम्म बिक्री गर्ने गरेको बताएका छन् । गत बर्षसम्म सदरमुकाम सिन्धुलीमाढीमा तराईका जिल्लाबाट यो सिजनमा बे मौसमी गोलभेंडा आयात हुदै आएकोमा जिल्लाकै ग्रामीण क्षेत्रमा मनग्ये उक्त गोलभेंडा उत्पादन हुन थालेपछि बाहिरी आयात ठप्प बनेको व्यापारीहरु बताउछन् । कमलामाई नगरपालीका ३ चपौली निवासी खडिन्द्र चौलागाई गत बर्ष मात्रै बेमौसमी गोलभेडा खेती गरेर झण्डै आठ लाख रुपिया कमाएको बताउनुहुन्छ । ६० हजार रुपैया जति लगानी गरेर १० रोपनी जग्गामा गरेको बेमौसमी गोलभेडा खेतिबाट एक सिजनमै उक्त आम्दानी लिन सफल भएको उहाँको भनाई छ । “धेरै कृषकले प्लाष्टिकको टनेलभित्र यहाँ गोलभेडा खेती गरेका छन्, उनीहरुले पनि राम्रै कमाएका छन्,” उहाँले भन्नुभयो, ”मैलै चाही के हुदो रहेछ भनेर खुल्ला जमिनमै गोलभेंडा खेती गरे । राम्रै फल्यो ।” आफुले एक दिनमा २० हजार रुपैया सम्मको गोलभेडा बिक्री गरेको उहाँले. जानकारी दिनुभयो । “मकै र अन्य बालि मासेर गोलभेडा लगाएकाले डुबिने चिन्ता परेको थियो, तर त्यस्तो भएन । सोचेभन्दा बढी आम्दानी लिन सफल भए” उहाँले थप्नुभयो । ग्रामीण क्षेत्रमा गरेको बेमौसमी गोलभेडा खेतीबाट हुने उत्पादन बिक्रि गर्ने बजार सदरमुकाम सिन्धुलीमाढी रहेको गोलभेडा खेतीमा संलग्न सोही ठाँउ निवासी डम्बरबहादुर देवकोटा जानकारी दिनुहुन्छु । “व्यापारीहरुको पहिले नै अडर आउछ, गाँउमै गाडी चल्ने हुनाले टिपेर टोकरीमा हालेर पठाई दिन्छु,” उहाँले भन्नुभयो, “बिक्रि गर्न कुनै समस्या छैन, कमाई पनि राम्रै हुदै आएको छ ।” गोलभेडा खेतीबाट राम्रै कमाई हुने गरेकोले काठमाडौँमा गरेको व्यापार व्यवसाय छाडेर गाँउमै फर्किएर उक्त खेतीमा संलगन भएको उहाँको भनाई छ ।  

प्रतिक्रिया