सिन्धुली,१० साउन – सिन्धुली जिल्लामा झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । सरकारले जिल्ला भित्र मात्रै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको झण्डै दुई सातापछि सिन्धुली जिल्लामा शुक्रबारदेखि त्यस्ता सबारी साधन सञ्चालनमा आएको हो । सुनौलो बीपी यातायात प्रालिका अध्यक्ष कान्छामान बलका अनुसार शुक्रबार सदरमुकाम सिन्धुलीमाढीदेखि मरिण र दुधौलीसम्म सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ ।
त्यस्तै शनिबारदेखि सिन्धुलीमाढीबाट घुर्मि, नेपालथोक, चकमके र घ्याङलेखसम्म सार्वजनिक सवारी साधन सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका अन्य ग्रामीण सडकहरु चपौली, तीनकनया लगायतका ठाँउमा पनि बस सेवा सञ्चालन गर्ने थियौं । बर्षाका कारण सडक बिग्रिएकाले सञ्चालन गर्न संभव भएन ।”
“गाडीमा यात्रा गर्ने यात्रुका लागि ढोकामा स्यानिटाईजर र सम्बन्धित मज्दुरलाई पञ्जा र माक्सको व्यवस्था गरेका छौं”, उहाँले भन्नुभयो, “यात्रुले आफ्नो लागि माक्स भने आफैले अनिबार्य व्यवस्था गर्नु पर्ने छ । माक्स लगाएर आएका यात्रुलाई मात्र बसमा चढाउछौं, माक्स नलगाई आएका यात्रुलाई किन्न लगाउछौं ।”

पहिलो दिन सञ्चालनमा आएका बसमा यात्रु भने कम मात्रै देखिएको छ । अहिलेका लागि मर्मत भएका सवारीसाधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारी साधन सडकमा आउने व्यवसायिहरुले जनाएका छन् । व्यवसायिहरुका अनुसार अझै कतिपय गाडी ग्यारेजमा नै थन्किएर रहेको छन् । मर्मतपछि बाँकी सवारी साधन पनि सञ्चालनमा आउनेछन् । चालक र सहचालकलाई आवश्यक स्वास्थ्य सावधानीका सामग्री व्यवसायीले उपलब्ध गराएका छन् भने यात्रुलाई पनि माक्स अनिवार्यरुपमा लगाउनुपर्ने भनिएको छ ।
सरकारले साउनभरी एउटा जिल्लाभित्र सवारीसाधन चलाउन पाउने निर्णय गरेको छ । यातायात व्यवसायीले भने सबै रुट खुल्ला गर्नुपर्ने भन्दै यातायात व्यवस्था बिभागमा भनिरहेका छन् ।
यसअघि सरकार र व्यवसायीबीच यातायात श्रमिकको समूह कोरोना बीमाका लागि नेपाल सरकारले ५० प्रतिशत र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बीमांक रकम उपलब्ध गराउने सहमति भएको थियो । त्यस्तै, यातायात श्रमिकको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारको तर्फबाट कोष स्थापना गराउने सहमति भएको थियो । त्यस्तै, श्रमिकको आवश्यक माक्स, पञ्जा, स्यानिटाजर र पिपिई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ ।