सिन्धुली,१६ अससार – कुनै बेला होटल नै देख्न मुस्किल पर्ने खनियाखर्क यतिखेर होटल व्यवसायले भरिदै गएको छ ।
सोही ठाँउ हुदै जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको बीपी राजमार्गका कारण आम्दानीको राम्रो संभावना बढेपछि खनियाखर्कमा होटल व्यवसाय गर्नेको संख्या बढ्दै गएको स्थानीय बासिन्दा बताउछन् । सोही ठाँउमा झण्डै एक दशकदेखि होटल व्यवसाय गर्दै आउनु भएका व्यवसायि ताराबहादुर मगर भन्नुहुन्छ, “कमाई पनि राम्रै छ, रोजगारी पनि पाईएको छ ।”
“मैलै होटल सुरु गर्दा यहाँ कुनै पनि होटल थिएनन्, अहिले एक दर्जनभन्दा बढी होटल खुली सके,” उहाँले भन्नुभयो, “आम्दानीको राम्रो संभावना देखेर नै बीपी राजमार्गले छोएका खनियाखर्क जस्तै ग्रामीण गाँउहरु होटल व्यवसायले भरिदै गएका छन् ।” नजिकै ऐतिहासिक सिन्धुलीगढी रहेकाले त्यहाँ आउने आन्तरिक पर्यटक तथा बसका यात्रुबाट नै खनियाखर्कको होटल व्यवसाय धानेको उहाँको भनाई छ ।
खनियाखर्कका स्थानीय बासिन्दा शैलेन्द्र सापकोटा पनि बीपी राजमार्ग निर्माणले उक्त ठाँउको स्वरुप नै फेरिएको बताउनुहुन्छ । “पहिले होटलको अभावमा भनेको समयमा एक कप चिया पनि खान पाईदैनथ्यो । अहिले के खाने ? होटलले भरिभराउ छ !” उहाँले भन्नुभयो, “खनियाखर्कमा आउने जो कोही पनि खनियाखर्कको पहिलेको र अहिलेको अवस्था देखेर अचम्म पर्ने गरेका छन् ।”
त्यस्तै सुनकोसी गाँउपालिका–३ रातमाटा बजार निवासी सन्तोषकुमार बमले पनि २६ लाख रुपैया लगानी गरि होटल व्यवसाय सुरु गर्नु भएको छ । आठ आना जमिन भाडामा लिएर होटल व्यवसाय सुरु गरेको उहाँ बताउनुहन्छ । “बर्षको २४ हजार रुपैया भाडा तीर्ने गरी आफैले २६ लाख रुपैया लगानी गरी होटल व्यवसाय सुरु गरेको छु,” उहाँले थप्नुभयो ।
‘सन साईन फुड क्याफे’ नाम दिएर सञ्चालन गरेको उक्त होटलमा अरु सात जनाले पनि रोजगार पाएका छन् । “कम्तिमा मासिक छ हजार रुपैयादेखि १३ हजार रुपैयासम्म तलब दिएर काम गर्न यी मानिस राखेको छु,” होटल व्यवसायि बमले भन्नुभयो, “होटल व्यवसाय भर्खरै सुरु गरेको हुँ, कमाई पनि सन्तोजनक नै छ । ठिक्क चलेको छ ।”
झाँगाझोली रातमाटा र खनियाखर्कमा मात्रै होईन, बीपी राजमार्ग सञ्चालनमा आएसँगै रामटार, खुर्कोट, नेपालथोक, खनियाखर्क, चियाबारी, खाल्टे लगायतका ठाँउमा होटलहरु खुल्ने क्रम बढ्दै गएको छ । राजमार्गमा गुड्ने बस, बोलेरो जीप, मोटर साईकल लगायतका सबारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी नै ती होटलहरु खुलेका स्थानीय बासिन्दा बताउछन् ।
सुनकोसी नदीको किनार हुदै बीपी राजमार्ग निर्माण भएकोले होटलमा आउने ग्राहकहरुको पहिलो रोजाईमा पनि सुनकोसीको माछा नै पर्ने गरेको होटल व्यवसायि बताउछन् ।
बीपी राजमार्ग निर्माण हुनअघि होटलको अभावमा एक कप चिया पनि खान नपाईने ठाँउहरु समेत अहिले होटलले भरिदै गएका स्थानीय बासिन्दा बताउछन् । राजमार्ग निर्माण हुनअघि यी ठाँउमा आउने जो कोही पनि नौला मानिसलाई बस्न खानको समस्या रहने गरेकोमा अहिले कुनै समस्या नभएको होटल व्यवसायिहरुको भनाई छ ।