शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

विवाह नहुँदा सिन्धुलीका टेलरिङ व्यवसायीको हात खाली

शुक्रवार , बैशाख २६, २०७७

 

सिन्धुली,२६ बैशाख – अघिल्ला वर्षका वैशाख–जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपालि कामबिहीन भएका छन् ।

सिन्धुलीमाढी गैह्रीबजारमा रहेको इको टेलरका प्रोपाइटर अर्जुन कार्की लगनको महिनामा न त राम्रोसँग खान र सुत्न पाउँनुहुन्थ्यो । अझ वैशाख, जेठका लगन त झन् छोप्नै गाह्रो हुन्थ्यो । विवाहका लुगा सिलाउन आउनेदेखि नयाँ शैक्षिकसत्र शुरु भएसँगै विद्यालय पोशाकको चापले कार्कीलाई उठिखाऊँ कि बसीखाऊँको अवस्था हुन्थ्यो । उहाँर्कोैे टेलरिङका मजदुरको अवस्था पनि उस्तै । काम चल्थ्यो र त कमाइ हुन्थ्यो । यो वर्षको शुरुकै लगनको महिना उनीहरुका लागि खेर गयो । विद्यालय बन्द रहेकाले शैक्षिकसत्र त केही ढिलो भए पनि शुरु होला तर वैशाख जेठमा हुने विवाह टरेकाले उनीहरुको आम्दानी ल’कडाउनले सक्यो ।

ल’कडाउनका कारण यो वर्षको वैशाखमा सिन्धुलीमा बैदिक विवाह निकै कम भएका छन् । अत्यावश्यक मानिएका बाहेक रोक्न मिल्ने र लगन सारेर गर्न मिल्ने विवाह यो वैशाखमा भएनन् ।

“मंसिरमा पनि बिहे त होलान् तर अहिलेका बिहे खप्टिएर आउँदा के फाइदा होला र”, कार्की भन्नुहुन्छ, “वर्षभरि घरभाडा तिर्न पुग्ने कमाउने महिना हो तर आफैँ सुतेर समय बिताएको छु ।” कोरोना भाइरस लक्षित ल’कडाउनको प्रत्यक्ष प्रभाव सिलाइ व्यवसायीमा परेको हो । हिजो काम गरेर ज्यालामा दैनिकी चलाएका मजदुरहरु आजे ऋणकै भरमा गुजारा चलाएर बसेको कार्की बताउनुहुन्छ । “श्रमिकको त बिचल्ली भएको छ, बजारमा महंगो घरभाडा तिरेर महंगो खाद्यान्न खाएर बसेका छन”, कार्की भन्नुहुन्छ, “अरु केही काम गरौँ भने पनि केही छैन ।”

मजदुरमात्रै होइन सञ्चित सम्पत्ति नभएका व्यवसायीलाई नै दैनिक कारोवार चलाउन कठिन भइरहेको अर्का व्यवसायी सन्जिब सुन्दास बताउनुहुन्छ । “घरभाडा तिर्नैपर्‍यो, व्यवसाय गर्दा लिएको ऋणको व्याज बढ्दै छ”, सुन्दासले भन्नुभयो, “मजदुर र साहु सबैको बिल्लीबाठ हुने भो ।” सिजनको काम धेरै चल्ने टेलरिङ व्यवसायले अरु महिनाभन्दा विद्यालय र विवाहका पोशाक बनाउने महिनामा धेरै आम्दानी गर्छन् ।

“यहाँ व्यवसाय गर्ने अधिकांश आफैँ पनि मजदुर हुन, ऋणमा चलाएको व्यवसायमा अरु केही साथीहरु मिलेर काम हुन्थ्यो”, व्यवसायी सुन्दासले भन्नुभयो, “को मालि’कको श्रमिक सबैलाई समस्या छ ।” सिन्धुलीमा बजारमा करिब एक सयको हाराहारीमा सानाठूला टेलरिङ सेन्टर सञ्चालनमा छन् । व्यवसायिकरूपमा सञ्चालनमा आएकादेखि स्वरोजगारका लागि चलेका टेलरिङको क्षेत्रमा ७ सय भन्दा बढीले रोजगारी पाएका छन् ।

सिन्धुलीमाडी बजार बाहिरका पालि’का मुकामका टेलरिङसमेत अहिले ठप्प छन् । उनीहरु के–कति स्वरोजगारीमा छन् भन्ने तथ्यांक छैन । ग्रामीण क्षेत्रमा छिटफुटरूपमा रहेको बालीघरे प्रथासमेत ल’कडाउनको कारण संकटमा परेको छ । कल बोकेर घरघरमै सेवा दिने बालिघरे प्रथा कोरोना त्रासको कारण समस्या परेको व्यवसायी बताउँछन् । सिजन गुमाएको व्यवसायलाई सबै तहका सरकारले राहतको कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया