सिन्धुली २१ चैत — मुलुकभर लकडाउनका कारण माछा बिक्री नहुँदा माछापालक किसान मारमा परेका छन् । माछालाई चारो अभाव भएको र बिक्री पनि ठप्प रहेको उनीहरुले गुनासो गरेका हुन् । कान्तिपुर दैनिकमा राजकुमार कार्कीले समाचार लेख्नु भएको छ
किसानका अनुसार गत साउनमा पोखरीमा हालेका भुरा माछा निकाल्ने समय घर्किन थालेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका—३ मा दुईवटा पोखरीमा माछापालन गर्दै आउन भएका सुदीप कार्कीले माछा बिक्री गर्ने समयमा लकडाउनले मुलुक ठप्प हुँदा समस्या परेको बताउनु भयो ।
“लकडाउन होला र मुलुक ठप्प होला भन्ने लागेन, अहिले निकाल्दा बिक्री छैन,” कार्कीले भन्नु भयो, “केही समय पोखरीमै राखौं न त भन्दा चारा छैन ।” उहाँले गत साउनमा पोखरीमा ६ हजार ८ सय भुरा हाल्नु भएको थियो । अलिअलि स्थानीयले किने पनि पोखरीका आधा माछा त्यतिकै रहेको उहाँले बताउनु भयो ।
बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा खुलेका लाइन होटलहरुमा माछा आपूर्ति गर्ने किसानको लक्ष्य थियो । ती सबै होटल यतिखेर बन्द छन् । “राजधानीसम्म ग्वाल्टारको माछा लैजाने योजना बनाएका थियौं,” कार्कीले भन्नु भयो , “ चिसो पानी लगाएका छौं, अब कतिन्जेल अडिन्छन, हेरौँ ।”
समयमा माछा निकाल्न नपाउँदा पोखरीभित्रै मर्ने डर समेत हुने उहाँले सुनाउनु भयो । “राजमार्गमा हजारभन्दा बढी होटल छन, ती खुलेको भए एक सातामै माछा सकिन्थ्यो,’ कार्कीले भन्नु भयो ।

१७ लाख रुपैयाँ लगानी गरेर निरन्तर कृषक समूह गठन गरी उहाँहरुले माछापालन सुरु गर्नु भएको थियो । गोलन्जोर गाउँपालिकाको समेत माछा पालक किसानलाई सहयोग रहेको छ ।
प्रतिकिलो पाँच सयका दरले बिक्री हुनुपर्ने माछा पोखरीमै हुँदा १० लाख घाटामा जाने सम्भावना रहेको निरन्तर कृषक समूहका किसानहरुको भनाइ छ । युवा पलायन रोक्न गाउँमा नै उत्पादनमूलक काममा लगानी गरेको तर अहिले को’रोनाले समस्या निम्त्याएको गाउँपालिका अध्यक्ष पुष्प कार्कीको भनाइ छ। माछापालनका लागि सुनकोशी, मरिण, हरिहरपुरगढी, गाउँपालिका र दुधौली र कमलामाई नगरपालिकामा प्रदेश सरकारको १० करोडभन्दा बढी लगानी छ ।