सिन्धुली, १२ चैत– विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको त्रास सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा रहेका बित्तिय संस्था बैंकहरुमा पनि देखिएको छ ।
कोरोना भाईरस रोकथाम तथा न्यूनिकरणका लागि सरकारले लकडाउन घोषणा गरेको दोस्रो दिन बुधबार सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा रहेका बित्तिय संस्था सबै बैंकहरुले कारोबार बन्द गरेका छन् ।
लकडाउनका कारण ग्राहकहरु नआएका कारण बैंक खोलेर बस्नुको कुनै अर्थ नभएको भन्दै बन्द गर्नु परेको सम्बन्धित बैंकहरुले जनाएका छन् । सदरमुकाम सिन्धुलीमाढीमा राष्ट्र बैंकबाट ‘क’ वर्गको ईजाजत पाएका बैंकहरु झण्डै एक दर्जन र ‘ख’ वर्गको ईजाजत पाएका तीन वटा विकासे बैंक छन् ।
लकडाउन घोषणा गरेको पहिलो दिन राष्ट्रिय बाणिज्य बैंक, प्रभु बैंक र एन.आई.सि.एसिया बैंक बन्द भएपनि दोस्रो दिन बुधबार सबै बैंक बन्द भएको एन.आई.सि. एसिया बैंकका शाखा प्रबन्धक प्रयास थपलियाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बैंक पनि अत्यावश्यक सेवामा पर्ने भएपनि लकडाउनका कारण ग्राहकको आवतजावत नभएपछि खुल्ला राख्नुको अर्थ पनि भएन ।” एटिएम सेवा सुचारु राखी अन्य सेवा बन्द गरिएको र कहिले खुल्ने ठेगान नभएको पनि उहाँले सुनाउनुभयो ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा राष्ट्र बैंकबाट ‘क’ वर्गको ईजाजत पाएका सरकारी स्वामित्व रहेका राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंक सहित एन.आई.सि. एसिया, मेघा, प्रभु, सिद्धार्थ, लक्ष्मी, प्राईम, सेन्चुरी, सिभिल, ग्लोबल आईएमई र एनसिसि बैंक रहेका छन् । त्यस्तै ‘ख’ वर्गको ईजाजत पाएका ज्योती विकास बैंक, मुक्तिनाथ विकास बैंक र सहयोगी विकास बैंक रहेका छन् ।
राष्ट्रिय बाणिज्य बैंक सिन्धुली शाखाका सहायक प्रबन्धक बिनोद ओझाले बैंक बन्द स्पष्ट निर्देशन नआएपनि ग्राहक नआएपछि बन्द गर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, कमलामाई नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको सम्पर्कमा रहने गरी बैंक बन्द गरेका छौं ।”
बाणिज्य बैंक सरकारी कारोबार गर्ने र राजश्व बुझ्ने निकाय भएपनि ग्राहक नआएपछि सबै कर्मचारी खोजेको बखत तुरुन्त उपस्थित (हाई अलर्ट) हुने गरी कार्यालय बन्द गरिएको उहाँको भनाई छ । “ठूलो परिमाणमा हामीले भुक्तानी दिनु पर्ने र निक्षेप राख्नु पर्ने अवस्था आयो भने पाँच मिनेटमा बैंकभित्र उपस्थित हुने गरी बसेका छौं,” उहाँले भन्नुभयो ।
नीजि क्षेत्रका अन्य कमर्सियल बैंकहरुले भर्ने बैंकर्स यसोसियसनको बैठकको निर्णय अनुसार कारोबार नै नभएपछि बैंक बन्द गरेको जनाएका छन् । कोरोना भाईरसको त्रासका कारण सिन्धुली जिल्लामा रहेका बित्तिय संस्था बैंकहरु पनि प्रभावित भएका छन् ।
अघिपछिका दिनमा रकम राख्ने र झिक्ने गरी तीन सय जनाभन्दा बढी ग्राहकले कारोबार गर्ने गरेकोमा लकडाउन घोषणा गरेको पहिलो दिन जम्मा नौ जनाले मात्र कारोबार गरेका मेघा बैंक सिन्धुलीले जनाएको छ ।