शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

प्रधानमन्त्री रोजगार कार्यक्रम

बुधवार , फाल्गुण २८, २०७६

सिन्धुली,२८ फगुन – प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बेरोजगारीलाई रोजगार दिनका लागि सिन्धुलीको सात गाँउपालिकामा ३ करोड ४४ लाख बजेज खर्च गरिने भएको छ । दुई नगरपालिका र सात गाँउपालिका गरि नौ ओटा स्थानिय तह रहेको सिन्धुलीमा दुई स्थानिय तहमा भने बजेट आएको छैन । समयमानै प्रस्ताव तथा कार्यक्रम नबुझाउदा दुई स्थानिय यहाँको सुनकोसी गाँउपालिका र घ्याङलेख गाँउपालिकामा बजेट आएको छैन ।

अन्य दुई नगरपालिका र पाँच गाँउपालिकामा बजेट विनियोजन भइसकेको छ । सिन्धुलीमा हजारौ युवा तथा वयस्कहरु बेरोजगार रहेको भन्दै फारम भरेपछि तिनै बेरोजगारलाई रोजगार दिनका लागि बजेट खर्च गरिने सम्बन्धित स्थानिय तहले जनाएका छन् ।

सरकारले बेरोजगारी हटाउन स्थानिय निकाय अथात् मुुलुकमै रोजगारी दिने र युवाहरुलाई विदेश नपठाउने निति लिएरसँगै स्थानिय तहमै रोजगारी दिनका लागि उक्त बजेट विनियोजन गरेको हो ।

कार्यक्रम र प्रस्तावको आधारमा सरकारले स्थानिय तहलाई न्युनतम दश लाख देखि अधिकतम ७५ लाखको सिमाभित्र रहि सशर्त अनुदान बजेट दिएको सम्बन्धित निकायले जनाएको छ । यसरी अधिकतम बजेट पाउनेमा सिन्धुलीको कमलामाई नगरपालिका र हरिहरपुरगढी गाँउपालिका परेका छन् । ती गाँउपालिकाले पठाएको कार्यक्रमका आधारमा सरकारले ७५ लाखनै बजेट स्विकृत गरि पठाएको सम्बन्धित स्थानिय तहले जनाएको छ ।

अन्य स्थानिय तहमा भने ७५ लाखभन्दा कम बजेट स्विकृत भएको छ । यस बर्ष बजेट समयमै आएको छ, हामी निर्देशिका अनुसार समयमै काम सुरु गर्छौ, यहाँको कमलामाई नगरपालिकाका रोजगार संयोजक अजय प्रधानले भन्नु भयो, “हाम्रोमा ७२ ओटा कार्यक्रम स्विकृत भइ ७५ लाख बजेट आएको छ, त्यसैले धेरै कार्यक्रम भएकाले नगरकार्यपालिकाको बैठकले छनौट गरेका प्राथमिकताका आधारमा कार्यक्रम गर्छौ, सबै कार्यक्रम यति बजेटले गर्न सम्भव छैन ।”

मन्त्रालयले गाउँपालिका र नगरपालिकाले आवेदन दिने व्यक्ति मध्येबाट बेरोजगार पहिचान गरेका सम्पूर्ण व्यक्तिहरुको पूर्ण विवरण EMIS मा प्रविष्ट गरे पश्चात मात्र आयोजना सञ्चालन निर्देशन दिएकाले रोजगार संयोजकहरु EMIS प्रणालीमा काम गर्न व्यस्त भएको संयोजक प्रधानले जनाउनु भयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत चालु आर्थिक बर्षमा सिन्धुलीको कमलामाई नगरपालिका र हरिहरपुर गढी गाँउपालिकामा ७५/७५ लाख, दुधौली नगरपालिकामा ६८ लाख २९ हजार, गोलञ्जोर गाँउपालिकामा ३२ लाख २१ हजार, तीनपाटन गाँउपालिकामा २९ लाख ८१ हजार, फिक्कल गाँउपालिकामा ४७ लाख ४२ हजार र मरिण गाँउपालिकामा १६ लाख ३९ हजार बजेट विनियोजित भएको छ ।

विनियोजित बजेट मध्ये प्रत्येक श्रमिकलाई अनिवार्य रुपमा एक सय दिन काम दिएर सय दिनको जयाला दिनुपर्ने व्यवस्था रहेकाले चैतको सुरुवातीबाटै प्रधानमन्त्री रोजगार कार्यक्रमको काम सुरु हुने गोलञ्जोर गाँउपालिकाका रोजगार संयोजक सरद प्याकुरेलले बताउनु भयो ।

१८ बर्षदेखि ५९ बर्षसम्मका युवा तथा प्रौढ उमेरका महिला तथा पुरुषले बेरोजगार भएको र रोजगार पाउ भन्दै गत बर्षनै स्थानिय तहमा फारम बेरोजगार युवायुवतीले स्थानिय तहमा फारम भरेका छन् । यहाँको सुनकोसी र घ्यालेख गाँउपालिकामा भने बजेट आएको छैन । दुई गाँउपालिकामा रोजगार संयोजक नभएको र त्यसको काम आलटाल भएकाले बजेट नआएको स्थानियको अनुमान छ । हाम्रो गाँउपालिकामा रोजगार संयोजक छैनन्, सुनकोसी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले भन्नु भयो, “एकजना कर्मचारीलाई यसका लागि खटाएका थियौ, उहाँले कार्यक्रमको प्रस्ताव पठाउन जान्नु भएनछ, अनि फेरी पठाएका छौ ।” उहाँले दोस्रो पटक कार्यक्रम स्विकृत हुदा सुनकोसी गाँउपालिकाको पनि हुने र बजेट आउनेमा आफुलाई मौखिक जानकारी समेत आएको बताउनु भयो ।

प्रतिक्रिया