शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बैंकमा सुन धिताे राखे व्याज पाइने

बिहिवार , फाल्गुण २२, २०७६

 

काठमाडौं, २२ फागुन – यसअघि सर्वसाधारणले बैंकमा सुन धितो राखेर ऋण लिने गरेका थिए। तर अब सुन धितो राखे बापत व्याज पनि पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै सुन निक्षेप योजना सुरु गरेको हो। नेपाल राष्ट्र बैंकले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त योजनाको जानकारी दिएको हो। बैंकले २५ ग्रामभन्दा बढी सुन मात्रै निक्षेपका रुपमा लिने राष्ट्र बैंकले जनाएको छ।

सुनको शुद्धता तथा तौल मापन गर्ने छुट्टै संयन्त्र बैंकले तोक्नु पर्ने र कम्तिमा ९९५ फिटनेस सुन मात्र बैंकले निक्षेपका रुपमा लिने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

यस्तै सर्वसाधारणले बैंकमा जम्मा गरेको सावाँ सुन तथा ब्याज सुनमै फिर्ता लिने वा नगदमा लिने भन्नेबारे पहिले नै बैंकसँग सम्झौता गर्नु पर्नेछ।

सुन निक्षेप कम्तिमा ३ वर्ष र अधिकतम ५ वर्षका लागि राख्नु पर्ने छ।

राष्ट्र बैंकका अनुसार सुन निक्षेपको ब्याज दर बैंकहरुले नै निर्धारण गर्ने तथा नगदमा ब्याज लिने ग्राहकलाई ब्याज रकम त्रैमासिक रुपमा भुक्तानी गर्नुपर्छ। सुन ब्याजमा लिने ग्राहकलाई त्रैमासिक रुपमा ‘कम्पाउन्डिङ इन्ट्रेस्ट’मा गणना गरी निक्षेप अवधिपछि भुक्तानी गर्नुपर्छ।

सुन निक्षेप राख्दा सुनको मूल्याङ्कन सुनचाँदी व्यवसायी महासंघले तोकेको बजार मूल्यमा गर्नु पर्ने हुन्छ।

सुन निक्षेप स्वीकार गर्ने बैंकको ढुकुटीमा रहेको सुन राष्ट्र बैंकको निर्देशन अनुसार कायम गर्नुपर्ने अनिवार्य तरलता अनुपात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) गणना गर्न सकिने भएको छ।

सीआरआरको अधिकतम २५ प्रतिशतसम्म मात्र सुन निक्षेपको रुपमा गणना गर्न पाइनेछ।

यस्तै १० लाख रुपैयाँभन्दा बढीको सुन निक्षेपको स्रोत खुलाउनु पर्नेछ। सुन निक्षेपको प्रमाणपत्रलाई त्यही बैंकमा धितो राखी निक्षेपमा रहेको सुनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने छ। यसको ब्याज दर निक्षेपमा पाइरहेको भन्दा २ प्रतिशत बढी हुनेछ।

सुन निक्षेप तथा ढुकुटी व्यवस्थापन सम्बन्धमा बैंकको आन्तरिक लेखापरिक्षकबाट कम्तीमा अर्धवार्षिक रुपमा लेखा परिक्षण तथा सुन मौज्दातको भौतिक परिक्षण भएको हुनुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया