काठमाडौं, २२ फागुन - राजधानीमा यही चैत १ देखि आयोजना हुने भनिएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टीट्वान्टी क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ । । आयोजक ईपीएलले बिहिबार पत्रकार सम्मेलन गर्दै ईपीएल स्थगित गरिएको जनाएको छ ।
चीनबाट सुरु भएको को‘रोना भा‘इरस विश्वब्यापी फै‘लदै गएपछि ईपीएल स्थगित गरिएको आयोजकले जनाएको छ । आयोजकले नेपाल सरकार, नेपाल क्रिकेट संघ, सहभागी टिम, प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगित गरेको जनाएको छ । नयाँ मिति को’रोना भा’इरस नियन्त्रण भएपछि तय हुनेछ ।
‘को’‘रोनाको त्रा’सले गर्दा अहिले ईपीएल स्थगित गरेका छौँ । यस स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्ने छौँ,’ ईपीएलका एमडी आमिर अख्तरले पत्रकार सम्मेलनमा भन्नुभयो ।
यस अघि ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुने तय भएको थियो । यस्तै उद्घाटन खेलमा साविक विजेता ललितपुर पेट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने तालिका रहेको थियो ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुरसंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।
ईपीएलको यो सस्करणमा विश्व चर्चित खेलाडीहरुले सहभागिता जनाउने कार्यक्रम थियो । जसमा वेस्ट इन्डिजका क्रिस गेल, दक्षिण अफ्रिकाका खेलाडी हसिम अमला, न्युजिल्यान्डका अलराउन्डर एन्डरसनलगायत खेलाडीले सहभागिता जनाउने थिए ।