काठमाडौ ,१७ फागुन – एसिसि इस्टर्न रिजन टीट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ । थाइल्यान्डमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल तुलानात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी मलेसियासँग २२ रनले पराजित भयो ।
पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५४ रन जोडेको थियो । मलेसियाका सेयद अजिज सेयद मुबारकले सर्वाधिक ५१ रन बनाउनु भयो । अहमद फैज मोहम्मद नुरले ३०, मोहम्मन अनवर अरुदिनले ३१ र अमिनुदिन राम्लीले २९ रन बनाउनु भयो ।
नेपालका बलर सन्दीप लामिछानेले तीन विकेट लिनु भयो । अविनाश बोहोराले २ र करन केसीले एक विकेट हात पार्नु भयो े।
नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ३२ रन मात्र जोड्यो। नेपालका ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान ३८ रन बनाउनु भयो । पवन सर्राफले १९ रन जोडनु भयो । कुशल मल्लले ०, पारस खड्का ९ र विनोद भण्डारी सात रनमा आउट हुनु भयो ।
८९ रन जोड्दा दुई विकेट मात्र गुमाएको नेपालले तेस्रो विकेटका रुपमा ज्ञानेन्द्रलाई गुमाएपछि लगातार दबाबमा आएको थियो । ज्ञानेन्द्र र दीपेन्द्रले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेपनि टोलीको हार टार्न सकेनन् ।
मलेसियाका एक बलरले तीन तथा तीन जना बलरले दुई दुई विकेट हात पार्नु भयो । पाँच टोली सहभागी प्रतियोगिता राउन्ड रोबिन लिग आधारमा सन्चालन हुने छ । शीर्ष दुई टोली एसिसि इमर्जिङ टिम्स एसिया कपको छनोटमा पुग्नेछन् ।