काठमाडौं, १९ माघ– चीनमा कोरोना भाइरसको संक्रमण दर बढेसँगै नेपाली फलफूल र तरकारी बजार प्रभावित भएको छ । चीनबाट आयात भइरहेको प्रभावित हुँदा स्थानीय बजारमा दोब्बरले भाउ बढेको छ । भाउ बढेका खाद्यवस्तुमा लसुन सबैभन्दा अघि छ ।
१५ दिनअघिसम्म कालिमाटी बजारमा सुकेको लसुनको मूल्य किलोको औसत २४५ रुपैयाँ थियो । अहिले लसुनको मूल्य औसत ५५० रुपैयाँ प्रतिकेजीमा पुगेको छ । दिन–दिनै लसुन महंगिँदैछ । एक हप्ताअघि ४९५ रुपैयाँ प्रतिकिलोमा आईपुगको लसुनको मूल्य आइतबार अधिकतम् मूल्य ५६० रुपैयाँ नाघेको छ । अझ बजारमा खुद्रा मूल्य ६०० माथि पुग्न थालेको छ ।
बजारमा प्याजको मूल्यले उपभोक्तालाई सताइरहेका बेला लसुनको मुल्यले पनि नयाँ रेकर्ड राखेको छ । दुई हप्ता १२५ प्रतिशतले लसुनको मूल्य बढेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताउनु भयो । “लसुन त सुनजस्तो भयो,” उहाँले भन्नु भयो,“इतिहासमा लसुनको मूल्य यति माथि गएको थिएन ।” कालिमाटीमा बढीमा प्रतिकिलो २८५ देखि ३०० रुपैयाँभन्दा माथि नगएको लसुन अहिले खुद्रामा अधिकतम् ६०० रुपैयाँमा पुगेको छ ।
कोरोनाको फैलन नदिन सतर्कताका लागि सीमा क्षेत्रमा ढुवानी गर्दै आएका मालवाहक सवारीसाधनको आवतजावतमा प्रतिबन्ध लगाइएपछि चीनबाट लसुन ल्याउन बन्द छ । “यतिबेला लसुन मागलाई स्टकले धानेको छ । आपूर्ति नै ठप्प भइरहँदा स्टकले मात्रै धेरै दिन धान्दैन,” कालिमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भन्नु भयो, “हाम्रो बजारमा पछिल्लो केही वर्षयता चिनियाँ लसुनको खपत राम्रै छ। अहिले आपूर्ति रोकिएपछि भाउ बढेको अवस्था छ ।”
तरकारी र फलफूल सामान ढुवानी गर्दै आएका मालवाहक गाडी यतिबेला सीमापारी रोकिएका छन् । “अहिले चीनमा कोरोना भाइरसको महामारी चलिरहेको कारण केरुङ नाका हुँदै लसुन आयातमा भइरहेको छैन,” उहाँले भन्नु भयो, “स्टक पनि धेरै नभएकाले भाउ बढेको हो ।”
पुसयता हाल प्रतिमहिना सरदर एक सय टन लसुन नेपालमा भित्रिँदै छ । त्यसअघि प्रतिमहिना दुई सय ५६ टनसम्म लसुन आयात हुँदै आएको श्रेष्ठले बताउनु भयो ।
चिनियाँ नयाँ वर्षका कारण गत मंसिरपछि लसुन आयातमा ५० प्रतिशत भन्दा बढिले गिरावट आएको थियो । गत पुसमा प्रतिकिलो २ सय ५० रूपैयाँमा बिक्री हुँदै आएको लसुन थोकमा आइतबार पाँच सय ६० रूपैयाँ पुगेको छ भने खुद्रा मूल्य ६ सय पुगेको छ । गत महिनाभन्दा बजार मूल्य दोब्बर भइसकेको लसुनको आयात प्रभावित भइरहँदा भाउ अझै बढ्ने स्थिति छ ।
“आयातको परिमाण घट्यो, स्टकले धेरै दिन बजार धान्दैन,” श्रेष्ठले भन्नु भयो, “अलि अलि माग त स्थानीय उत्पादनले पनि धान्ने हो, तर हाम्रो लोकल प्रोडक्सन निकै थोरै हुन्छ । आयातको अवस्थामा छिटै सुधार नआए सुनजस्तै महंगो हुन बेर लाउँदैन लसुनले ।”
सुकेको लसुनको भाउ बढ्दा हरियो लसुनको पनि बिक्री मूल्य बढेको छ । हरियो लसुन अहिले औसत १४५ रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ । तर, सुकेको लसुन महंगिएपछि हरियोको माग बढ्दा यसको मूल्य पनि बढ्ने क्रममा छ । १५ दिनमा हरियो लसुनको मूल्य पनि १६ प्रतिशतले बढेको कालीमाटी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।