शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बंगुर पाल्ने कृषक बढ्दै

बिहिवार , पौष २४, २०७६

डाडी (सिन्धुली),२४ पौष– सिन्धुली जिल्लामा पछिल्लो समयमा बंगुर पालन गर्ने कृषकहरु बढ्दै गएका छन् ।

अन्य पशुभन्दा बढि र छिटो आम्दानी लिन पाईने भएकोले विपष्न्न कृषकहरु बंगुरपालन व्यवसायतिर आकर्षित भएका हुन् । बङ्गुर पालन गर्दा उत्पादन हुने पाठापाठी र मासु बिक्री गर्न बजारको कुनै समस्या नपर्ने र स्थानीय गाँउघरमा नै खपत हुने व्यवसायमा संलग्न कृषकहरुको धारणा पाईन्छ ।

कमलामाई नगरपालिका–१ डाडीगुराँसे निवासी विपन्न कृषक सुशिला घिसिङ् बङ्गुरपालनबाट नौ महिनामा १४ हजार रुपैया पाठा र पाठी बेचेर कमाउन सफल भएको बताउनुहुन्छ ।

अन्य पशु भन्दा छिटो बढ्ने र आम्दानी पनि लिन पाईने भएकाले आफु बङगुरपालन व्यवसायतिर आकर्षित भएको उहाँको भनाई छ । कृषक घिसिङ भन्नुहुन्छ, “गाँउकै समूहबाट दुई हजार रुपैया ऋण लिएर व्यवसाय सुरु गरेको हुँ । अहिले पाठापाठी गरि खोरमा सात वटा छन् ।”

त्यस्तै कमलामाई नगरपालिका–४ निवासी कृषक ज्ञानकुमारी सुनुवार आफ्नो परिवारका लागि बङ्गुर पालन व्यवसाय आम्दानीका दिगो स्रोतको रुपमा स्थापित बनेको बताउनु हुन्छ । दुई वर्षअघि एउटा बङ्गुरबाट व्यवसाय सुरु गरेकोमा अहिलेसम्म ३५ हजार भन्दा बढि आम्दानी गरि सकेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “बंगुरको आम्दानीबाटै छोराछोरीको पढाई खर्च र घर खर्च जुटाएको छु । आम्दानीको कुनै स्रोत नभएको अवस्थामा बङ्गुरपालन कार्यक्रमले आफ्नो जीवनस्तरमा परिबर्तन नै ल्याएको छ ।”

जिल्लामा सञ्चालन भएका गरिबी निबारण कार्यक्रम, महिला विकास कार्यक्रम लगायतका कार्यक्रमले गाँउ गाँउमा सामुदायिक सस्था गठन गरि घुम्ति कोषको रकम उपलब्ध गराएपछि विपन्न परिवारलाई बंगुरपालन जस्ता आयआर्जनका व्यवासय गर्न सजिलो भएको स्थानीयको बुझाई छ ।

कमलामाई नगरपालिका–९ स्थित दनुवार सामुदायिक संस्थाकी सचिब बालकुमारी दनुवार जिल्लामा पछिल्लो समय बङगुरपालन व्यवसाय गर्ने कृषकको सङख्या बढ्दै गएको बताउनुहुन्छ । “मैले पनि सामुदायिक संस्थाबाट २० हजार रुपैया ऋण लिएर तीन बर्ष पहिलेदेखि बङगुरपालन व्यवसाय गर्दै आएको छु,” उहाँले भन्नुभयो, “अहिले उक्त ऋण पनि तिरि सके र ४० हजार रुपैयाभन्दा बढी आम्दानी लिई सके ।”

जिल्लाका विभिन्न ठाँउमा साप्ताहिक हाटबजार बंगुरपालक कृषकका लागि आफुले उत्पादन गरेको बङगुरका पाठापाठी बेच्ने मुख्य थलोको रुपमा विकास भएको छ । सदरमुकाम सिन्धुलीमाढीमा शनिबार र बुधबार लाग्ने साप्ताहिक हाट बजारमा बुंरका पाठापाठी किन्न आउने कृषकको भिड नै लाग्ने स्थानीय व्यापारी नबराज श्रेष्ठ बताउनुहुन्छ ।

कमलामाई नगरपालिका २ चियाबारी निवासी सन्तोष बुढाथोकीले पनि फर्म नै दर्ता गरी व्यवसायिक रुपमा बंगुरपालन व्यवसाय सुरु गर्नु भएको छ । १५ लाख रुपैयाभन्दा बढी लगानी गरी व्यवसाय सुरु गरेको उहाँले भन्नुभयो । “चाँडै आम्दानी लिन पाईने र बढी फाईदा लिन पाईने हुनाले बंगुर पाल्न थालेको हुँ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया