शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

उद्यमीलाई व्यवसाय गर्न कर्जाकै अभाव

बुधवार , पौष २३, २०७६

दुधौली नगरपालिका–६ हर्षाहीमा सरिता अधिकारी दनुवारले गर्नु भएको च्याउ खेती ।

हर्षाही(सिन्धुली),२३ पौष – दुधौली नगरपालिका–६ हर्षाही निवासी सरिता अधिकारी (दनुवार)लाई यतिखेर च्याउ खेती रोजगारीको राम्रो आधार भएको छ । उहाँले गत बर्ष उद्यम व्यवसाय अन्तर्गत च्याउ खेती सम्बन्धि एक साताको तालिम लिएपछि व्यवसाय गर्न सजिलो भएको हो ।

“गत बर्ष तालिम लिएपछि २० हजार रुपैयाँ लगानी गरी दुई सय पोका (बिउ) हालेर च्याउ खेती सुरु गरे, एक लाख रुपियाँ कमाई,” व्यवसायबाट उत्साहित सरिताले भन्नुभयो, “यो बर्ष पनि दुई सय पोका बिउ हालेर भर्खर सुरु गरेको छु । ५० हजार रुपियाँ जतिको च्याउ बिक्री गरी सकेको छु । तालिम लिएपछि प्राविधिक ज्ञान पाएकोले व्यवसाय गर्न सजिलो भएको छ ।”

एक पटकमा ३५ केजीसम्म च्याउ बिक्री गर्ने गरेको र प्रतिकेजी दुई सय रुपियाँले गाँउमै बिक्री हुने उहाँले सुनाउनुभयो । उहाँका अनुसार एक पोका बिउबाट चार पटकसम्म च्याउ टिपेर आम्दानी लिन पाईन्छ । गाँउकै उन्नतीशिल कृषि तथा उद्यमशिल सहकारी संस्थामा आबद्ध उद्यमी सरिता च्याउकै आम्दानीले मासिक दुई सय रुपैँया बचत पनि गर्दै आउनु भएको छ ।

पाँच सय पोकासम्म बिउ हालेर च्याउ खेती गर्ने योजना रहेको तर कर्जाकै अभावमा व्यवसाय बिस्तार गर्न कठिन भएको उहाँको भनाई छ ।

सात दिने तालिम लिएर सोही ठाँउकी रुपा भण्डारीले पनि यो बर्षदेखि परिक्षणका लागि टर्की पाल्न थाल्नु भएको छ । “परिक्षणका लागि १६ वटा टर्की हालेको छु, सफल भयो भने व्ययवसायिक रुपमा टर्की पाल्ने योजना बनाएको छु,” उद्यमी भण्डारीले भन्नुभयो, “यस क्षेत्रका लागि यो नयाँ उद्यम व्यवसाय हो । यस क्षेत्रमा १० जनाले परिक्षणका रुपमा टर्की पालेका छौं ।”

गाँउमा महिला रोजगारीका लागि दिगो बित्तिय पँहुच परियोजना सञ्चालन भई विभिन्न किसिमका सिप मूलक तालिम दिएपछि धेरै बेरोजगार महिलाहरु अहिले टर्की पालन, च्याउखेती, रागाँ पालन, बाख्रा पालन, तरकारी खेती जस्ता उद्यम व्यवसायमा संलग्न हुन सुरु गरेका उहाँले जानकारी दिनुभयो ।

गाँउकै उन्नतीशिल कृषि तथा उद्यमशिल सहकारी संस्थाको व्यवस्थाप (कर्मचारी) समेत रहनु भएकी भण्डारीका अनुसार उक्त सहकारीमा उद्यम व्यवसाय तालिम लिएका १८९ जना शेयर सदस्य आबद्ध छन् । सहकारीले उद्यम व्यवसाय गर्न सदस्यलाई बढीमा ५० हजार रुपियाँसम्म कर्जा लगानी गर्ने गरको तर त्यो पनि सबैले नपाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सहकार्य नेपालले दुई बर्षअघि उक्त परियोजना सञ्चालन गरेपछि यि उद्यमी तयार भएका हुन् । एक लाख रुपैयाँसम्म ऋण माग्ने धेरै छन्, तर सबैलाई ५० हजार रुपियाँ पनि कर्जा पु¥याउन सकिएको छैन ।”

दुधौली नगरपालिकाको वडा नं. ४, ६, ८, १०, ११, तीनपाटन गाँउपालिकाको वडा नं. १, २ र कमलामाई नगरपालिकाको वडा नं. १२ मा फिनल्याण्ड सरकार (एफसिए) को सहयोगमा महिला रोजगारीका लागि दिगो बित्तिय पँहुच परियोजना सञ्चालन हुदै आएको सहयोगी संस्था सहकार्य नेपालले जनाएको छ ।

यि ठाँउमा स्थापना भएका आठ वटा उद्यमशिल सहकारी संस्थामा करिब दुई हजार जना आबद्ध रहेका र ती मध्ये ४२३ जनाले नियमित रुपमा उद्यम व्यवसाय सञ्चालन गर्दै आएको सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाँकी सदस्यलाई पनि उद्यम व्यवसाय सञ्चालन गर्न कर्जा लगानीका लागि कृषि विकास बैंकसँग समन्वय गरिएको र बैंकले पनि प्रकृया पुगी आएका उद्यमीलाई लगानी गर्न तयार रहेको बताएको छ ।”

प्रतिक्रिया