काठमाडौँ ,२३ पौष– सुनको भाउले नयाँ उचाई कायम गरेको छ । मंगलवार ५ सयले घटेको सुन आज बुधवार पुन १ हजारले बृद्वि भएको छ ।
बुधबार सुनको भाउ प्रतितोलामा १ हजार रुपैयाँ बढेर ७६ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले नै बढेर ७६ हजार २०० रुपैयाँ पुगेको छ । यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँ पुगेको छ ।
इरान र अमेरिकाबीच युद्ध हुन सक्ने खतराका कारण अन्तराष्ट्रिय लगानीकर्ताहरु सुन सञ्चय गर्नेतर्फ आकर्षित भएको अनुमान गरिएको छ ।
सुनलाई सबैभन्दा सुरक्षित लगानी ठान्दै लगानीकर्ताहरु यतातर्फ मोडिंदा भाउ अचाक्ली बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ ।
यो अहिले सम्मकै उच्च मूल्य हो । यसअघि सोमबार सुन तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो । मंगलबार ५ सय रुपैयाँ घट्दा केही राहत महसुस गरेका सर्वसाधारण खरिदकर्ताले फेरि बुधबार महँगो भाउ तिर्नुपर्ने भएको छ । भाउ अचाक्ली बढेपछि बजारमा कारोबार हुन छाडेको छ ।
अत्यावश्यक बाहेक अन्य अवस्थामा सुन किन्नेहरु अति कम रहेको व्यवसायीहरु बताउँछन् ।