सिन्धुलीको फिक्कल गाँउपालिका–१ महादेवडाँडामा स्थानीय महिला अल्लोलाई प्रशोधन गरी कपडा बुन्दै ।
सिन्धुली, २२ पौष– सिन्धुलीको फिक्कल गाँउपालिका–१ महादेवडाँडाका स्थानीय बासिन्दाले अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन थालेका छन् ।
अल्लोबाट कपडा बनाउने सम्बन्धि डेढ महिने तालिम लिएपछि उनीहरु सामूहिक व्यावसायिक रुपमा नै कपडा उत्पादन तिर जुटेका हुन् । फिक्कल गाँउपालिका, घरेलु तथा साना उद्योग विकास समिति र श्री सिन्धुली नामक सहयोगी संस्थाले अल्लोको महत्व र उपयोगिता बारे जानकारी गराएपछि स्थानीय बासिन्दाले त्यसबाट कपडा बुन्ने व्यवसाय सञ्चालन गर्न अग्रसर भएका छन् ।
महादेवडाँडाका जंगलमा अल्लो प्रशस्त पाईन्छ । त्यत्तिकै खेर गई रहेको अल्लोबाट कपडा उत्पादन गरि घरमै रोजगारी सिर्जना गर्ने र आफु पनि आत्मनिर्भर हुने भएपछि उनीहरु यो व्यवासयप्रति आकर्षित भएका हुन् । अहिले स्थानीय १५ जना बेरोजगार व्यक्ति डेढ महिने आधारभुत तालिम लिएर अल्लोको कपडा उत्पादनमा लागेका छन् ।
गाँउघरमा पाईने अल्लोलाई सहि प्रयोग गर्दा आम्दानी हुने थाहा पाएपछि आफुले पनि तालिम लिएर अल्लोको कपडा बुन्न थालेको स्थानीय कर्णबहादुर सुनुवारले बताउनुभयो । उहाँका अनुसार अल्लोलाई प्रशोधन गरेर कपडा बुनाईका लागि आवश्यक पर्ने मेसिन फिक्कल गाँउपालिका र दातृ निकायले उपलब्ध गराएका छन् । स्थानीयबासी अहिले अल्लोको कपडा उत्पादन गरी गाँउपालिकलाइ नै समृद्ध बनाउने योजनाका साथ लागि परेका छन् ।
उहाँले भन्नुभयो, “युवा पैसा कमाउन विदेश जान्छन्, तर गाँउमै भएको हिरा चिन्न सकेका छैनन् । गाँउमै पैसा फलाउने स्थानीय कच्चा पदार्थ कुहिएर गएको देखेनन् । अल्लोलाई प्रशोधन गर्दा आम्दानी हुने थाहा पाएर घरमै बसेर विना लगानी चोखो आम्दानी हुने भएकोले अल्लो बुनाईएको सीप लिएको छु । अब घरमै बसेर स्वरोजगार बन्ने छु ।”
डेढ महिने तालिम लिएर अल्लोको कपडा बुन्दै गर्नु भएकी स्थानीय रामकुमारी सुनुवारले अल्लोलाई सही सदुपयोग गरेर आयआर्जन गर्ने बताउनुभयो । “अल्लोबाट पैसा कमाउन सकिन्छ भन्ने सोचेको पनि थिईन, अहिले थाहा पाँउदा उद्यमी बन्ने रहर पलाएर आयो । अब घरमै बसेर स्वरोजगार हुने लक्ष्य रहेको छ,” उहाँले भन्नुभयो, “उत्पादन गरेको कपडाको बजारीकरणको जिम्मा गाँउपालिकाले लिएकोले अल्लोको कपडा बुन्ने उत्साह जागेको छ ।”
अल्लोबाट स्वरोजगार भई आयआर्जन गरेर जीविकोपार्जन गर्न स्थानीय बासिन्दाले चासो देखाएपछि गाँउपालिकाले लगानी गरेको फिक्कल गाँउपालिकाले जनाएको छ । आफ्नै ठाँउमा धेरैलाई रोजगारी सिर्जना गर्न सकिने संभावना भएकाले गाँउपालिकाले प्राथमिकताका साथ अल्लोको कपडा बनाउन साझेदार संस्थासँग मिलेर काम गरेको गाँउपालिका उपाध्यक्ष पार्बती सुनुवारले बताउनुभयो । अल्लोबाट आयआर्जन गर्न सकिने र फिक्कलको चिनोको रुपमा अल्लोबाट कपडा उत्पादन गरि बितरण गर्न सकिने उहाँको धारणा छ ।
उहाँका अनुसार खेती नै नगरी स्थानीयस्तरमा पाईने अल्लोलाई प्रशोधन गरेर यसबाट कपडा बनाउने संभावना देखेर महादेवडाँडामा उद्योग स्थापनाका लागि गाँउपालिकाको सहयोगमा भवन निर्माण भई रहेको छ । फिक्कलमा अहिले पर्यटन प्रबद्र्धनका लागि भ्युटावर लगायतका अन्य भौतिक पूर्वाधार निर्माण भई रहेको छ । स्थानीयस्तरमा होमस्टे सञ्चालनका लागि गाँउपालिकाले चासो देखाएको र बिस्तारै आन्तरिक तथा बाहिया पर्यटक गाँउपालिकामा भित्रने क्रमम बढेकाले अल्लोबाट उत्पादित कपडा बिक्रिका लागि बजारको समस्या नहुनेमा उद्यमी ढुक्क देखिन्छन् ।
सिन्धुलीमा अल्लोबाट बार्षिक दुई सय जनालाई स्थानीयस्तरमै रोजगारी दिन सकिने संभावना रहेको दातृ संस्था ‘श्री सिन्धुली’ का कार्यक्रम संयोजक बेदराज दाहालले बताउनुभयो । “जिल्लाका धेरै स्थानमा अल्लो पाईन्छ । तर महाँदेवडाँडामा धेरै ठूलो संभावना रहेकोले १५ जना स्थानीय बासिन्दालाई गत बैशाख ९ गतेदेखि डेढ महिनाको अल्लोको कपडा बुनाईमा सिप दिएको हो,”उहाँले भन्नुभयो, “महादेवडाँडा, खोलागाँउ, अरुणठाकुर, ककुरठाकुर, बाहुनतिल्पुङमा जंगलमा अल्लो प्रशस्त पाईन्छ ।” यहाँ गरिएको एक अध्ययनबाट बार्षिक ५६ हजार धागोका रेशा अल्लोबाट निकाल्न सकिने संभावना रहेको उहाँले जानकारी दिनुभयो ।
उनीहरुलाई तालिम दिएपछि दुई लाख ५० हजार रुैपया बराबरको अल्लोको कपडा बुन्ने चार वटा मेसिन र धागो रोल गर्ने एउटा मेसिन निःशुल्क उपलब्ध गराई सहयोग गरेको कार्यक्रम संयोजक दाहालले बताउनुभयो । अल्लोका धागोबाट दुर्गम क्षेत्रमै बसेर विना लगानी सहजै थैली, क्याप, टोपी, जुत्ता, झोला, माछा मार्ने जाल, पछ्यौरा, प्रेसम्याट, पर्दा आदिका कपडा बनाई प्रयोग गर्न सकिने छ ।
अल्लोका रेशाहरुबाट बुनिएका धागोका कपडा स्वदेशमा भन्दापनि विदेशमा निर्यात हुने भएकोले यसबाट बिदेशी मुद्रा आर्जन गर्न सक्दा यस्ले देशलाई समृद्ध बनाउनमा टेवा पुग्ने गाँउपालिका उपाध्यक्ष सुनुवारको धारणा छ । बिगतमा पनि यस क्षेत्रमा अल्लोबाट कपडा बुनाईको प्रयास भएको तर भौगोलिक बिकटता, सडक पूर्वाधार नहुन, स्थानीयस्तरमा यसको महत्व नहुनुले पनि सफल नभएको भन्दै उपाध्यक्ष सुनुवारले अव स्थानीयस्तरमा स्थानीय कच्चा पदार्थको उचित प्रयोग गरेर उत्पादनमूलक कार्यमा लागेको बताउनुभयो ।