सुनको भाउले आइतबार पनि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार प्रतितोला ७४ हजार ५ सय कायम भएको सुनको मूल्य आइतबार प्रतितोला एक हजार ले बढेर सुनको मूल्य ७५ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । पछिल्लो केही दिनदेखि सुनको मूल्य बढिरहेको थियो । गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय थियो ।
शुक्रबार १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय पुगेको सुनको मूल्य आइतबार पुन हजार रुपैयाँ बढेर उच्च मूल्य कायम भएको हो ।
यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य भने प्रतितोला ९ सयमा कारोबार भइरहेको छ ।
अमेरिका र ईरानबीचको तनाव, डलर मजबुत र भारतीय रुपैयाँ कमजोर भएकाले नेपालमा सुनको भाउ बढेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको हो । सुनको भाउ तोलाको ८० हजारको हाराहारीमा पुग्ने देखिएको व्यवसायीको भनाइ छ ।