शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

उद्यमी बन्दै ग्रामीण किसान

शुक्रवार , पौष १८, २०७६

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सहित अन्य सरोकारवाला निकायका प्रतिनिधि मरिण क्षेत्रमा उद्यमसिलता विकास परियोजनाको अनुगमन तथा निरिक्षण गर्नु हुदै ।

हरिहरपुरगढी गाँउपालिका–२ बख्फर निवासी किसान खिन्चलाल पहरी अहिले घरमै बसेर एक बिगाहा जमिनमा तरकारी खेती गर्दै आउनु भएको छ । एक बर्षअघि उद्यम व्यवसाय अन्तर्गत तरकारी खेती सम्बन्धि सात दिने तालिम पाएपछि अहिले आफ्नो दैनिकी फेरिएको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “सहकार्य नेपालले तरकारी खेती सम्बन्धि तालिम दिएपछि फुर्सदिलो जीवन अहिले व्यस्त बनेको छ । तालिमपछि सुरु गरेको तरकारी खेतीबाट एक सिजनमै ५० हजार रुपैयाँ आम्दानी लिन सफल भए । अब यो सिजनमा एक लाख रुपैयाँ आम्दानी लिने लक्ष्य बनाएको छु ।”

यतिखेर किसान पहरीको खेतमा टमाटर, खुर्सानी, लौका, काउली र बन्दा लगायतको तरकारी मनग्य फलेको छ । उत्पादित तरकारी गाँउघर र नजिकैको चैनपुर बजारमा बिक्री हुदै आएको उहाँको भनाई छ । किसान पहरीले तरकारी खेतीसँगै बंगुर पनि पाल्नु भएको छ । उहाँको खोरमा यतिखेर नौ वटा माउ र पाठापाठी गरी १७ वटा बंगुर छन् ।

“बंगुर पनि दुई लट बिक्री गरी सके,” उहाँले भन्नुभयो, “पहिलो लट १० वटा पाठापाठी बिक्री गर्दा २७ हजार रुपैयाँ र दोस्रो लट पनि १० वटा पाठापाठी बिक्री गर्दा ३० हजार रुपैया कमाई भयो ।” विदेश गएर मोटो रकम कमाउने सपना बोकेर किसान पहरी सात बर्षअघि ईराक र मलेसिया पनि जानु भयो । तर सोचे जस्तो कमाई नहुने तर दुःख बढी भएपछि १८ महिनामा नै स्वदेश फर्किनु भयो ।

विदेश गएको ऋण तिर्ने पैसा कमाएपछि आफ्नै देश फर्किएर उद्यम सम्बन्धि सिप सिकेर तरकारी खेती र बंगुरपालन व्यवसाय सुरु गरेको उहाँको भनाई छ ।

मरिण गाँउपालिका–४ कल्पबृक्ष निवासी किसान मिना लाखे पनि यतिखेर अचार उद्यमी बन्नु भएको छ । गत बर्ष अचार उत्पादन सम्बन्धि लेबलिङ र प्याकेजिङ सम्बन्धि तीन दिने तालिम पाएपछि आफु पनि अचार उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । “उत्पादन भएको अचार गाँउ घरमा नै थोरै–थोरै बिक्री हुदै आएको छ,’ उहाँले भन्नुभयो, ‘बजारीकरणकै अभावमा धेरै अचार उत्पादन गर्न सकेको छैन ।”

अचार उत्पादनबाट आफुले सामान्य आम्दानी लिदै आएको भएपनि बजारकै अभावमा सोचेजति अचार उत्पादन गर्न नसकेको उहाँको गुनासो छ ।

मरिण गाँउपालिकाको वडा नं. ३ र ४ तथा हरिहरपुरगढी गाँउपालिकाको वडा नं. २, ३, ४ र ५ मा २०७४ सालदेखि फिल्याण्ड सरकार (एफसिए)को सहयोगमा जीविकोपार्जन तथा उद्यमसिलता विकास परियोजना सञ्चालन भएपछि २२९ जना उद्यमी तयार भई सकेका छन् । उनीहरुलाई माग आधारित विभिन्न किसिमका सिप र ज्ञान सिकाई उद्यमी बनाईएको सहयोगी संस्था सहकार्य नेपालले जनाएको छ ।

उक्त संस्थाका अनुसार ती उद्यमीलाई अचार उत्पादन, बाँसजन्य सामग्री बनाउने, माछा पालन, कृष्टलको गहना बनाउने, दुनाटपरी बनाउने, मौसमी तथा बेमौसमी तरकारी खेती, हाउस वायरिङ, सिलाईकटाई, खाद्य प्रशोधन र पसल व्यवस्थापन लगायतका सिप प्रदान गरिएको छ । “सिप सिकेका मध्ये ८६ जना प्रत्यक्ष उद्यम व्यवसायमा संलग्नमा छन्, भर्खरै तालिम सकेका अरु ५२ जना पनि व्यवसाय गर्ने तयारीमा छन्,” संस्था अध्यक्ष खेटराज अधिकारीले भन्नुभयो, “ती उद्यमीहरु तीन वटा लघुउद्यम सहकारी संस्थामा आबद्ध छन् ।”

लघुउद्यममा संलग्न उद्यमीहरुलाई उनीहरुले गरेको व्यवसाय अनुसार हातेट्रयाक्टर, पानी तान्ने पम्प, टनेल, सिलाई कटाई मेसिन, मिल, तरकारीको बिउ सहित सहकारीलाई छ लाख रुपियाका दरले बिउ पूँजी, फर्निचर, स्टेशनरी सहयोग गरेको उहाँले जानकारी दिनुभयो । तीन वटै लघु उद्यम सहकारी संस्थामा झण्डै ११ सय जना आबद्ध रहेको र उनीहरुको बचत रकम सहित झण्डै एक करोड रुपियाँ परिचालनको अवस्थामा रहेको उहाँको भनाई छ ।

तीन वटै सहकारी संस्थाले लघुउद्यमीहरुले उत्पादन गरेको सामान् बिक्री गर्न आफैले सुपथ मूल्यको पसल समेत सञ्चालन गरेका छन् । यो बाहेक उनीहरुको उत्पादन प्रबद्र्धन तथा बिक्री गर्न सदरमुकाम सिन्धुलीमाढीमा कोसेली घर स्थापना गरिएको छ ।

त्यस क्षेत्रमा लघुउद्यम व्यवसायको अनुगमन गर्न पुग्नु भएका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरिब तथा विपन्न वर्गका जनताको जीवनस्तर उकास्न तल्लो तहसम्म लघु उद्यम पुग्नु पर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘उद्यमीहरुको उत्पादनलाई बजारको समस्या छ, गुणस्तरिय समान ठूलो परिमाणमा उत्पादन गरे बजारको समस्या हुदैन ।’

 

प्रतिक्रिया