आम्दानीको स्रोत दुध : सिन्धुलीको सुनकोसी गाँउपालिका स्थित दुम्जामा कृषकले उत्पादन गरेको दुध संकलन गरि बिक्रिका लागि डेरीमा पठाउन तयारी गरिदै । पछिल्लो समयमा सिन्धुलीको ग्रामीण क्षेत्रका कृषकहरु दुध उत्पादनतर्फ आकर्षित बन्दै गएका छन् ।
कमलामाई नगरपालिका–८ निवासी कृषक मनमाया श्रेष्ठको दिनचर्या गोठमा पालेको भैंसिको स्याहारसुसार गर्दै बित्ने गरेको छ ।
हरेक दिन विहानै उठेर गोठमा पालेका दुई वटा भैंसिको स्याहार सुसार गर्नु र उक्त भैसिबाट दुध दोएर सदरमुकाम सिन्धुलीमाढी पुर्याई बिक्री गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक २५ माना दुध सदरमुकाम पु¥याएर बिक्री गरी एक हजार २५० रुपैयाँ आम्दानी दिने गरेको छु ।”
दुध बिक्री गर्दा हुने कमाईबाट घर खर्च चलाउन सजिलो भएको र आफ्नो जीवनस्तरमा समेत परिवर्तन आएको उहाँको भनाई छ । पछिल्लो समयमा सिन्धुली जिल्लमा व्यवसायिक रुपमा भैंसि पालन गरी आम्दानी लिने कृषकको सङख्या बढ्दै गएको छ ।
जिल्ला दुग्ध उत्पादन सहरकारी सङघका अनुसार हाल जिल्लामा दैनिक रुपमा नौ हजार लिटर दुध उत्पादन हुने गरेको छ । जिल्ला उत्पादन भएको दुध स्थानीयस्तरमा खपत हुन नसकि बाहिरी जिल्लामा
समेत निर्यात हुन थालेको छ । दैनिक पाच हजार लिटर दुध काठमाण्डौ र ढल्केबर निर्यात हुने गरेको हो ।
जिल्लाका कृषकले मासिक रुपमा एक करोड २६ लाख रुपिया बराबरको दुध बिक्री गर्ने गरेको सङघका निमित्त जिल्ला अध्यक्ष नबराज गजुरेलले जानकारी दिनुभयो । जिल्ला सदरमुकाममा दुधको माग बढी भएपनि दुधको खपत जिल्लामा मात्र हुन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
सिन्धुली जिल्ला दुध उत्पादनमा आत्मनिर्भर रहेको जानकारी दिदै उहाँले भन्नुभयो, “सरकारीले कृषकको घरबाटै दुध खरिद गरि दिने भएकोले धेरै कृषक व्यवसायिक रुपमा भैंसि पाल्न सुरु गरेका छन् । दुध बिक्री गर्न उनीहरुलाई पनि बजार खोज्दै हिड्नु परेको छैन । धेरै सजिलो भएको छ ।”
दुधको गुणस्तर हेरेर कृषकसँग प्रतिलिटर ५५ देखि ६० रुपियाँमा खरिद गर्ने गरेका निमित्त जिल्ला अध्यक्ष गजुरेलले सुनाउनुभयो । जिल्लाका ग्रामीण क्षेत्रहरुमा पछिल्लो समयमा यातायातको पँहुच पुगैसँगै कृषकहरु पनि पशुपालन व्यवसायतिर आकर्षित बनेका हुन् ।
कमलामाई नगरपालिका पशु विकास शाखाका अनुसार जिल्लामा बर्सेनि करिब १३ हजार मेट्रिक्टन दुध उत्पादन हुदै आएको छ । दूध उत्पादन वृद्धि गर्न घाँस विकास कार्यक्रम, पशु सुरक्षित गर्न बिमा कार्यक्रम, सुत्केरी भत्ता बितरण, पशुपालन सम्बन्धि तालिम, गाईभैंसिको पकेट क्षेत्र कार्यक्रम सञ्चालन, घुम्ति कोष ऋण परिचालन जस्ता कार्यक्रम सञ्चालन हुदै आएको छ ।
जिल्लाको भू–बनौट पनि पशु पालन व्यवसायका लागि उपयुक्त रहेको र जिल्लामा उन्नत जातका गाईभैंसिको सङ्ख्या बढ्दै गएकाले दूध उत्पादन पनि वृद्धि भएको शाखाका पशु विकास अधिकृत चिरञ्जिवी ढकालको भनाई छ । दूध उत्पादन बढ्दै गएपछि ठाँउ–ठाँउमा कृषकले डेरी उद्योग र दुग्ध सहकारी सस्था स्थापना गरि मूनाफा लिदै गएका कार्यालयले जनाएको छ ।
जिल्लाको गोलान्जोर गाँउपालिका–५ खनियाखर्कमा रहेको महाभारत दुग्ध सहकारी संस्थाबाट त्यस क्षेत्रका सयौं कृषकहरु लाभान्वित भएका स्थानीय बासिन्दा बताउछन् । उक्त सहकारी संस्थाबाट जलकन्या, रतनचुरा, भद्रकाली, भिमेश्वर लगायतका ठाँउका सात सयभन्दा बढि पशुपालक कृषकलाई दूध बिक्रि गर्न सजिलो भएको सहकारीले जनाएको छ ।
ठाँउ–ठाँउमा खुलेका सहकारीले कृषकलाई दुध बिक्रि गर्न निकै सजिलो भएको कमलमाई नगरपालिका–३ चपौलीका पशुपालक कृषक देबीप्रसाद चौलागाई बताउनुहुन्छ । ‘सहकारी नहुदा बिक्री नभएको दुध घरमै खाएर नै खपत गर्नु पर्ने बाध्यता थियो,’ उहाँले भन्नुभयो, ‘अहिले त्यो समस्याबाट मुक्ति मिलेको छ । दैनिक दुध बेचेर दुइ/÷चार रुपिया भने आम्दानी लिन पाईएको छ ।’