दुर्गम गाँउको उद्योग पानीघट्ट : सिन्धुलीको सुनकोसी गाँउपालिका–१ बसेरीमा परम्परागत उद्योगको रुपमा बिगत ४० बर्षदेखि सञ्चालनमा रहेको पानीघट्ट । यस्ले यहाँका २१ घरपरिवारलाई सुविधा दिएको स्थानीयको भनाई छ । तस्बिर : बाबुराम देवकोटा,सिन्धुली
सिन्धुली जिल्लामा महिलाको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ ।
राजश्वमा भारी छुट पाईने भएपछि महिलाको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम ह्वात्तै बढेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । एउटै प्रकृतिको उद्योग पुरुषको भन्दा महिलाको नाममा दर्ता गर्दा राजश्वमा धेरै छुट पाईने भएपछि महिलाको नाममा उद्योग दर्ता गर्नेको सङख्या ह्वात्तै बढेको समितिका प्रमुख संजिब न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार संघिय सरकारले २०७५ पुसदेखि महिला, दलित, पिछडिएका बर्गको नाममा उद्योग दर्ता गर्दा राजश्वमा भारी (धेरै) छुट दिने व्यवस्था मिलाएपछि सिन्धुलीमा महिलाको नाममा उद्योग दर्ता गराउनेको संख्या बढेको हो । उहाँले भन्नुभयो, ‘उक्त व्यवस्था अनुसार एक करोड रुपियासम्मको एउटै प्रकृतीको उद्योग पुरुषको नाममा दर्ता गर्दा २० हजार रुपियासम्म राजश्व लाग्छ, तर त्यही उद्योग महिलाको नाममा दर्ता गर्दा दुई सय रुपिया राजश्व लाग्छ ।’
समितिका अनुसार सिन्धुली जिल्लामा गत असार मसान्तसम्ममा कुल दुई हजार ८९० वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यि मध्ये उत्पादनमूलक १७५ वटा, उर्जा सम्बन्धि एउटा, कृषि तथा वन जन्य एक हजार १७४ वटा, पर्यटन सम्बन्धि एउटा र सेवा मूलक एक हजार ५५७ वटा रहेका छन् ।
यि उद्योग मध्ये २०७५ पुसदेखि यता दर्ता भएका अधिकांस उद्योग महिलाको नाममा दर्ता भएका समितिका प्रमुख न्यौपानेको भनाई छ । उहाँका अनुसार दर्ता भएका यि उद्योगबाट दुई हजार ९१३ जना महिला र पाँच हजार ३७५ पुरुषले प्रत्यक्ष रोजगार पाएका छन् । यि उद्योगको कुल लगानी पूँजी तीन अर्ब ८६ करोड ५९ लाख ५८ हजार ८१८ रुपिया रहेको छ ।
यो लगानी मध्ये पनि स्थिर पूँजीतर्फ दुई अर्ब १७ करोड एक लाख ११ हजार ६१४ रुपिया रहेको छ । त्यस्तै चालु पूँजीतर्फ एक अर्ब ६९ करोड ५८ लाख ४७ हजार २०४ रुपिया रहेको समितिले जनाएको छ । स्थानीय तहले अनिबार्य प्यान नम्बर खोजेकाले पनि उद्योग दर्ता गर्ने आउनेको सङख्या बढेको समितिका प्रमुख न्यौपानेको भनाई छ । उहाँले भन्नुभयो, ‘दर्ता भएका उद्योग चालु छ कि निष्कृय छ, त्यो भने जनशक्तिको अभावले अनुगमन गर्न सकिएको छैन ।’
क्रसर उद्योग, ईटा उद्योग र बाताबरण प्रदुषण गर्ने उद्योगको बेला बेलामा अनुगमन गर्ने गरेको तर अरु साना उद्योगको भने अनुगमन गर्न नसकिएको उहाँले सुनाउनुभयो । ‘आवश्यक प्रकृया पुरा गरी पेश गरेको कागजातको आधारमा उद्योगको नबिकरण गरि दिने गरेका छौं,’ उहाँले थप्नुभयो ।
हाल जिल्लामा दर्ता भएका घरेलु तथा साना उद्योगहरुमा राईस मिल, पानी घट्ट, कन्ट्रक्सन, फर्निचर, सिलाई कटाई, फोटो स्टूडियो, सिलाई, ब्युटिपार्लर, टायलब्लक सम्बन्धि आदि रहेका समितिले जनाएको छ ।
सदरमुकाम र आसपासका क्षेत्रमा भने फर्निचर उद्योग धेरै दर्ता भएको समितिले जनाएको छ । दर्ता भएका कतिपय साना उद्योगले भने उत्पादन गरेको सामान्ले बिक्रिका लागि बजार र स्थानीयस्तरमा कच्चा पदार्थको अभाव भएको समस्या देखाएका छन् ।
सदरमुकाममा नै ढाका कपडा उत्पादन व्यवसाय सञ्चालन गर्नु भएकी उद्यमी बिमला थापा पनि बजारकै अभावमा आफ्नो उद्योग फस्टाउन नसकेको गुनासो गर्नु हुन्छ । ‘उत्पादित कपडा बिक्रि गर्न समस्या पर्छ, त्यसैले मैले फुर्सदको समयमा मात्रै ढाका कपडा उत्पादन गर्दै आएको छु’ उहाँले भन्नुभयो ।
‘बजार कै समस्याले मैले उद्योगमा पुरै समय खर्चिन सकेकी छैन । फुर्सदको समयमा उत्पादन गरेको ढाका कपडाले घर खर्च धान्दै आएको छु भने ‘अर्डर’ को कपडा मात्रै उत्पादन गर्ने गरेकी छु’ उहाँले थप्नुभयो ।