नेपालमा प्याज र गोलभेँडाको मूल्य वृद्धिले उपभोक्तालाई आश्चर्यमा पारेको छ । प्रति केजी १ सय ६० र १०० रुपैँया भन्दा बढी मूल्यमा प्याज र टमाटर क्रमशः बिक्रि हुदैँ आएको छ । नेपालमा मात्र नभएर दक्षिण एसियामै प्याज र गोलभेडाँको मूल्यवृद्धिले उपभोक्तालाई पिरोलिरहेको छ । हालैमात्र, पाकिस्तानमा गोलभेँडाको मूल्यले नयाँ रेकर्ड राखेको छ । सबैभन्दा ठुलो सहर कराचीमा बुधवार गोलभेँडा प्रति केजी ६४० रुपैयाँमा कारोबार भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाइरहेका छन् । त्यसैगरि, केहि दिन अघिमात्र बंग्लादेशमा प्याजको मूल्यमा निरन्तर वृद्धिपछि बंग्लादेशी प्रधानमन्त्री शेख हसिनाले प्याज नै नखाने बताएकी थिइन् । बंग्लादेशका विभिन्न होटल तथा रेस्टुरेन्टले प्याजको प्रयोगमा कमि ल्याएको बंग्लादेशी संचारमाध्यमले जनाइरहेको छ । बंग्लादेश प्याजमा पुरै आत्मनिर्भर नभएपनि प्रति वर्ष ४० प्रतिशत प्याज विदेशबाट आयात गर्ने गर्छ ।
त्यसैगरि, पाकिस्तानको कराचीमा मंगलवारसम्म प्रति केजी रु. ४८० मा कारोबार भइरहेको गोलभेँडा बुधवार एकाएक रु. ६४० पुगेको हो । यस वर्ष गोलभेँडाको पैदावार कम रहेको कारण मूल्यमा माथि पुगेको अधिकारीहरूले बताएका छन् । यस महिनाको सुरुवातमा कराचीमा गोलभेँडाको अधिकतम खुद्रा मूल्य रु. १८७ रुपैयाँ रहेको थियो ।
छिमेकि राष्ट्र भारतमा प्याजको मूल्यवृद्धि भएपछि बंग्लादेश, भुटान सहित नेपालमा पनि असर देखिएको छ । नेपालमा प्रायशः ३० देखि ४० रुपैयाँ प्रति केजीमा कारोबार हुँदै आइरहेको प्याज यति बेला प्रति केजी १ सय ६० भन्दा बढी मूल्यमा कारोबार भइरहेको छ । यता, प्याजको भाउ अत्यधिक भएपछि भारत सरकारले भने प्याज आयात गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।