शुक्रबारबाट सुरु भएको टी–१० लिगको पहिलो खेलमा नेपालका पूर्व कप्तान पारस खड्काले पाचौँ स्थानमा ब्याटिङ पाएका छन् । शुक्रबार राति यूएईको अबुधाबीमा भएको खेलमा पारसको टोली टिम अबुधाबीले क्यालान्डर्ससँग प्रतिस्पर्धा गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अबुधाबीले १० ओभरमा ६ विकेट गुमाएर १०३ बनाएको थियो । यता क्यालान्डर्सले पनि १० ओभरमा ३ विकेट गुमाएर १०३ रन नै बनाउँदा खेल बराबरी भयो । दुवैले १–१ अंक बाँडेका छन् ।
पहिले ब्याटिङ गरेको अबुधाबीका लागि कोरे एन्डर्सनले सर्वाधिक ४३ रन बनाए । पारसले ३ बल सामना गरेका थिए जसमा उनले ३ रन बनाउँदै नटआउट रहे । ९ औं ओभरमा क्रिजमा आएका पारसले त्यस ओभरको अन्तिम बल मात्रै सामना गर्न पाए त्यसमा उनले २ रन जोडे ।
१० औं ओभरको ५ औं बलमा मौका पाउँदा उनले कुनै रन जोड्न सकेनन् । अन्तिम बलको सामना गरेका पारसले १ रन जोडे । दोश्रो रन लिनकालागि दौडिदा नन स्ट्राइकमा रहेका दक्षिण अफ्रिकी खेलाडी मार्चेन्ट लंगे रन आउट भए
बलिङमा भने पारसले मौका पाएनन् । पारसका लागि यो खेल विदेशी लिगमा पहिलो खेल हो । टी–१० लिगको शनिबारको दोस्रो खेलमा नेपालका लेग स्पीनर सन्दीप लामिछानेको टोली कर्नाटक तुस्कर्सले दिल्ली बुल्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ साँढे ७ बजे हुनेछ ।