नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा परेका छन् । उनी सिजन २०२० को पिएसएल टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ‘प्लाटिनम’ श्रेणी’ अन्तर्गतको ड्राफ्टमा समावेश भएका हुन् । विदेशी खेलाडीको ड्राफ्टमा परेका सन्दिपसँगै २८ जना विदेशी खेलाडी ‘प्लाटिनम’ श्रेणीमा समावेश हुन सफल भएका छन् । ड्राफ्टमा टिमहरुले ३÷३ जना प्लाटिनम, डाइमन्ड र गोल्ड क्याटागोरी, ५ जना सिल्भर र २ जना इमर्जिङ क्याटागोरीमा खेलाडी आबद्ध गर्छन् । ड्राफ्टबाट टिममा छनोट हुन सफल भएमा खेलाडीले कम्तिमा १ लाख ४७ हजार डलर (१ करोड ६९ लाख रुपैयाँ) देखि २ लाख १८ हजार डलर (२ करोड ५१ लाख रुपैयाँ) प्राप्त गर्नेछन्।
आगामी फेब्रुअरीमा (झण्डै तीन महिना बाँकी) पाकिस्तानमा हुने तय पिएसएलको खेलाडी छनोटका लागि नोभेम्बरको अन्त्यमा ‘ड्राफ्ट’ हुनेछ । एक टिमले कम्तिमा १६ खेलाडी राख्नु पर्नेछ। जसमा ११ जना पाकिस्तानी र ५ जना विदेशी खेलाडी टिममा आबद्ध गर्न पाइनेछ। यस्तै थप २ जना खेलाडी आबद्ध गर्नु परेमा १ जना पाकिस्तानी र १ जना विदेशी खेलाडी राख्न पाइने नियम छ । ड्राफ्टमार्फत पिएसएलका ६ टिमले खेलाडी आ–आफ्नो टिममा आबद्ध गर्नेछन् ।
सन्दीपबाहेक ड्राफ्टमा नाम समावेश गर्नका लागि पाँच जना नेपाली क्रिकेटर सिफारिस गरिएको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले तीव्र गतिका बलर करण केसी, अलराउन्डर पवन सर्राफ, स्पिनर ललितनारायण राजवंशी, ब्याट्सम्यान मोहमद आरिफ शेख र विकेटिकपर ब्याट्सम्यान विनोद भण्डारीको नाम सिफारिस गरेको थियो। पाँचै जनाको नाम पाकिस्तान क्रिकेट बोर्डलाई पठाएको थियो। तर पाँचै जनाको नाम ड्राफ्टमा पर्ने वा नपर्ने निश्चित भने छैन । सन्दिपको भने निश्चित भएको छ ।