धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर ( विस्तृत परियोजना प्रतिवेदन ) तयार भएको छ । चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तोकिएको समयभन्दा झण्डै दुई महिना ढिला गरी तयार भएको हो ।
उक्त रंगशाला २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने छ । क्रिकेट रंगशालाको आकार कमलको फूल हुने र नेपाली मौलिकता झल्कने रंगशालामा ३० हजार जना अट्ने फाउन्डेसनले जानकारी दिएको छ । रंगशाला भित्र क्रिकेट स्टेडियमसँगै फुटबल मैदान, स्वीमिङ पुल र कभर्ड हल पनि निर्माण गरिने छ । रंगशालामा दुई भीआईपी प्याराफिटसमेत रहनेछन् । उक्त रंगशाला निर्माणको काम तिहार लगत्तै हुनेछ भने निर्माण अवधि दुई वर्ष तोकिएको छ । अर्थात्, दुई वर्षभित्र रंगशाला निर्माणको काम सम्पन्न हुनेछ । तिहार लगत्तै क्रिकेट स्टेडियमको निर्माण कार्य हुनेछ । क्रिकेट स्टेडियम निर्माणसँगै फुटबल मैदान, स्वीमिङ पुल र कभर्ड हलपनि बन्नेछ ।
क्रियटिभ डिजाइन आर्किटेक प्रा.लि.को नेतृत्वमा भारतीय र अमेरिकन कन्सल्टेन्सीको सहयोगमा डीपीआर तयार गरिएको हो । २ अर्ब ५० करोड लागतमा रंगशाला निर्माण हुनेछ । निर्माणकालागि डिपिआर एउटा महत्वपूर्ण स्टेज भएको र डिपिआर सम्पन्न भइसकेकाले रंगशाला निर्माण हुने निश्चित देखिएको छ । अब डिपिआर स्विकृत भएपछि निर्माण काम शुरु हुनेछ ।