सिन्धुलीको स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु व्यवसायिक बन्न थालेका छन् । दुधौली नगरपालिका वडा नम्बर–१० र फिक्कल गाउँपालिका वडा नम्बर–५,का वडा अध्यक्षहरु व्यवसायिक बन्दै गएका हुन् ।
दुधौली नगरपालिका–१० का वडा अध्यक्ष दुर्गा बहादुर देवकोटाले व्यवसायिक बाख्रा पालन गरेको छन् । उनले अफ्रिकन मुलुकमा पाइने अस्ट्रोलियन वोयर जातको बाख्रा पालन गरेका हुन् । फिक्कल गाउँपालिका–५,का वडा अध्यक्ष राजु बरालले व्यवसायिक माछापालन सुरु गरेका छन् ।

वोयर बाख्रा पालन फर्म दर्ता गरेर व्यवसायिक बाख्रा पालनमा लागेका वडा अध्यक्ष देवकोटाका अनुसार अहिले एक सय २० वटा बाख्राहरु फर्ममा छन् । उनले ३० वटा वोयर जात र ९० वटा लोकल खरी जातको बाख्रा पालन गरेको बताए । उत्पादन,विक्रि वितरण र वडाका बेरोजगारी,बेसहारा परिवारलाई रोजगारी दिने उद्देश्यले थालिएको व्यवसायिक बाख्रा पालन राम्रो आम्दानीको स्रोत भएको उनको भनाई छ ।
सात वटा वोयर बाख्रा ३ लाख १० हजार सम्ममा विक्री गरेको वडा अध्यक्ष देवकोटा बताउँछन् । फर्मबाट विक्री भएको बाख्रा उदयपुर,म्याग्दी,झापा,पर्वत,मोरंग र पाल्पामा समेत पुगेका छन् । आफ्नो १० कठ्ठा खेत र ७ कठ्ठा जग्गा भाडामा लिएर बाख्राका लागी घाँस लगाएको छु । वडा अध्यक्ष देवकोटाले भने,“ आर्थिक अवस्था कमजोर भएका ५ जनालाई रोजगारी समेत दिइरहेको छु ।”

यस्तै फिक्कल गाउँपालिका वडा नम्बर–५,का वडा अध्यक्ष राजु बरालले १० रोपनी जग्गामा २ वटा पोखरी निर्माण गरि व्यवसायिक माछापालन सुरु गरेका छन् । पोखरीमा सिल्भर,नैनी,ग्रास कार्ड र भरा लाहान गरि ४ जातका माछा छन् । उनले ३ जनालाई रोजगारी दिएको बताए । मेहनत गरे आफनै देशमा हिरा फलाउन सकिन्छ, विदेशमा पसिना वगाउनुको सट्टा स्वदेशमै श्रम र सीपलाई खर्चन सके सम्मृद्धि र कृषि क्षेत्रको विकास हुने वडा अध्यक्ष बरालको भनाई छ ।
व्यवसायले जनप्रतिनिधिहरुलाई आफ्नो आर्थिक अवस्थामा सहयोग पुर्याउँदा समाजसेवा गर्न थप सजिलो भई जनताको काम प्रभावकारी हुने द्धोय वडा अध्यक्ष देवकोटा र बराल बताउँछन् । भष्ट्राचार नगरी निष्पक्ष र पारदर्शी रुपमा जनताको काम सम्पन्न गर्न जनप्रतिनिधि स्वयम् व्यवसायिक बन्नु पर्ने कुरालाई मनन् गर्दै सामाजिक सेवा सँगै व्यवसायिक बन्न थालेको उनिहरुले बताएका छन् ।