शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

माटोमा छन् आम्दानीका श्रोतहरु

आइतवार , कार्तिक ३, २०७६

सिन्धुलीको तिनपाटन गाउँपालिका–२ मझुवाका किसान मुरली पौडेलले व्यवसायिक बेसार खेती गरेका छन् । उनले खाद्यबाली लगाउन छोडेर व्यवसायिक बेसार खेती गर्न थालेको ९ बर्ष भयो । बर्षेनी २० रोपनी भन्दा बढी क्षेत्रफलमा उन्नत जातको बेसार खेती गदैँ आएको किसान पौडेल बताउँछन् ।

उनले वार्षिक ३ लाख रुपैँया बेसार बेचेर आम्दानी हुने गरेको बताए । ५ जना छोरी र एक जना छोरालाई बेसार बेचेर नै पढाई रहेको छु । जेठी छोरीलाई काठमाडौँमा राखेर डिग्री गराए । चार जना छोरी र छोरालाई पनि पढाईरहेको छु,बेसार बेचेर किसान पौडेलले सुनाए ।

गत फागुन महिनामा किसान पौडेलले २० रोपनी भन्दा बढी क्षेत्रफलमा बेसार खेती लगाएका थिए । यतिबेला उनलाई आफुले बारीमा लगाएको बेसार माटो मुनिबाट निकालेर बेच्न योग्य बनाउन र बेच्न योग्य बनाएको बेसार बजार बजारमा लगेर विक्रि गर्न भ्याईनभ्याई छ ।

कम्मरमा पटुकी बाँधेर बेसार कोदालोले खनेर निकाल्छु । धोई पखाली गरेर घाममा सुकायो । मेलमा लगेर पिसायो । अनि आफुले उत्पादन गरेको बेसार बोराबोरामा प्याक गरेर बजारमा बेच्न ल्याउँछु । बजारमा बेसार विक्री गर्दै गरेका किसान पौडेलले हाँस्दै भने ।

किसान पौडेलले सिन्धुलीको भिमानमा शुक्रबार लाग्ने हाट बजार,सिन्धुलीमाढीमा शनिवार र बुधवार लाग्ने हाट बजार र रामेछापको मन्थलीमा सोमबार लाग्ने हाट बजारमा आफुले उत्पादन गरेको बेसार पुर्‍याउँछन् । विचौलिया व्यापारी उनले उत्पादन गरेको बेसार किन्न गाउँमा नै पुग्छन् । तर विचौलिया व्यापारीलाई आफुले बेच्ने नगरेको उनले बताए ।

विचौलिया व्यापारीका कारण उपभोक्ताले स्वस्थ्य वेसार पाउँदैनन । विचौलिया व्यापारीका कारण उत्पादक किसान घाटामा पर्छ । म अग्र्यानीक बेसार उत्पादन गर्छु । विक्री गर्न समस्या नै छैन । किसान पौडेलले भने ।

उनका अनुसार एउटा बजार बराबर हप्तामा ८÷९ हजारको बेसार विक्री हुन्छ । विचौलीया व्यापारीले मानोको एक सय लिन्छन् । त्यो पनि मिसावट बेचार हुन्छ । किसान पौडेलले दावि गदँै भन्छन्,मैले अर्गानिक राम्रो बेसार मानोको ८० रुपैयामा नै बेचिरेको छु ।” उनका अनुसार ग्रामिण सडक विस्तार भएसँगै गाडी घर सम्मै पुग्छ । गाउँमा उत्पादन भएका उत्पादनहरु बजार सम्म लगेर बेच्न कुनै समस्या छैन ।

सिंचाईको अभावमा बषौँ देखि गर्दै आएको कोदोको खेतीले आम्दानी नभए पछि बेसारको व्यावसायिक खेती सुरु गरेको उनले बताए । भिरालो बारीमा कोदोको खेतीबाट बर्षमा ५ हजार रुपैयाँ पनि आम्दानी गर्न हम्मेहम्मे हुन्छ । ९ बर्षयता कोदो छोडेर व्यवसायिक बेसार खेती गर्दै आएको छु । किसान पौडेलले भने,“व्यवसायिक बेसारको खेतीबाट सोचे भन्दा बढी आम्दानी लिन सफल भए ।”

किसान पौडेलले २ कक्षा मात्र पढेका छन् । सानैमा बुबा विते पछि घरपरिवारको ठुलो जिम्मेवारी उनमा छ । आर्थिक अवस्था कमजोर भएका कारण गाउँका धेरै युवा कमाइ गर्न विभिन्न ठाउँमा जान्छन् । कतिपय उनमा साथिहरु पनि गएका थिए । घरको ठुलो जिम्मेवारी सानै उमेरमा सम्माल्नु प¥यो । विदेश जान सक्ने अवस्था नै थिएन् । सिन्धुलीमा गाडी चलाउन सिके । केही समय साहुँको गाडी चलाए पनि । तर आम्दानी गर्न सकिन् । त्यसपछि आफ्नै जन्मभुमि माटोमा आम्दानीका श्रोतहरुको खोजी गर्न थाले । किसान पौडेलले सुनाए ।

उनले आफ्नो आम्दानीका श्रोतहरु नै व्यवसायीक बेसार खेती भएको बताए । उनले थप गर्दै भने्,“मिहेनत र परिश्रम गर्ने हो भने स्वदेशी माटोमा प्रसस्त आम्दानीका श्रोतहरु छन् ।”

उनले व्यवसायिक बेसार खेती सुरु गरेपछि साहुँ महाजनकोमा काम गर्नु पर्ने बाध्यता हटेको बताए । आम्दानी राम्रो,खेती गर्न सजिलो र बजारको समस्या नभएकाले तिनपाटन गाउँपालिकामा बेसार खेती गर्ने किसानको संख्या बढिरहेको उनको भनाई छ ।

थोरै परिश्रम गरेर बढी आम्दानी हुन थालेपछि मुरली पौडेल जस्तै तिनपाटका अन्य किसान पनी अहिले वेसार खेतीमा आकर्षित भएका छन्् । पाखो,भिरालो र ओसिलो जग्गामा खेती गरिने बेसारबाट आम्दानी राम्रो हुने गरेको किसानको अनुभव छ ।

प्रतिक्रिया