नयाँ अवधारणामा आधारित १०० बलको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेटर सन्दीप लामिछाने ड्राफ्टमा परेसँगै छनौटको विषयमा चर्चा चलेको छ । नेपाली युवा खेलाडी सन्दीप चर्चिच खेलाडी साहिद अफ्रिदि, डेल स्टेनहरु भन्दा महंगोमा ड्राफ्टमा पर्न सफल भएका छन् । सन्दिप टिममा पर्छन् कि पर्दैनन् आज पुष्टि हुनेछ ।
इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्ट आज हुँदैछ । लण्डनमा आयोजना हुने ड्राफ्ट नेपाली समय अनुसार राति ११ः४५ बजे सुरु हुनेछ । आयोजकले विदेशी कोटाका खेलाडीको न्युनतम मूल्य १ लाख २५ हजार पाउण्ड र १ लाख पाउण्ड राखेको छ । सन्दीपको रिजर्भ प्राइस अर्थात आरक्षित मूल्य १ लाख पाउण्ड अर्थात् १ करोड ४६ लाख नेपाली रुपैयाँ रहेको छ ।
इंग्ल्यान्ड र वेल्समा हुने प्रतियोगिताको लागि ड्राफ्टमा सन्दीपसँगै १६५ जना विदेशी खेलाडी छन् । अक्टोबर २० मा खेलाडी छनोट हुदैछ । ‘द हन्ड्रेड’ क्रिकेटमा आठ टिमले ७ वटा क्याटोगरीमा रहेका खेलाडीलाई आफ्नो टिममा राख्ने छन् ।
सन्दीप रहेको क्याटोगरीमा ग्लेन म्याक्श्वेल, आन्द्रे रसेल, राशिद खान, सकिब अल हसन, तमिम इक्बल, साहिद अफ्रिदी, ड्वाइन ब्राभो, हरवजन सिंह र केइरन पोलार्ड रहेका छन् ।
इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १६ अगष्टसम्म हुनेछ ।