सिन्धुली,०३ मंसिर — दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय सञ्चालनमा आएसँगै विद्यार्थीको कपाल काट्ने विषयलाई लिएर सिन्धुलीमा नयाँ बहस सुरु भएको छ । विद्यालयको अनुशासन र आचारसंहिता पालना गराउने जिम्मेवारी तथा विद्यार्थीको व्यक्तिगत स्वतन्त्रता र बालअधिकारबीचको सन्तुलनलाई लिएर अभिभावक र विद्यालय पक्षबीच चासो बढेको हो ।
पर्व मनाउन गाउँघर गएका सैलुन व्यवसायी तथा हजामहरू बजार नफर्किँदा कतिपय सैलुन अझै सञ्चालनमा आउन सकेका छैनन् । यही कारण केही विद्यार्थीले विद्यालय खुल्नुअघि कपाल मिलाउन नपाएको अभिभावकहरूको भनाइ छ । तर, निर्धारित स्वरूपमा कपाल नकटाई विद्यालय पुगेका विद्यार्थीलाई कारबाही हुन सक्ने भन्दै दबाब दिइएको गुनासो सार्वजनिक भएपछि विषयले थप चर्चा पाएको छ ।
विद्यालयहरूले भने कपालको स्वरूपलाई दण्डको विषय बनाउनुभन्दा विद्यार्थीमा अनुशासन, नियमितता र पोसाकमा एकरूपता कायम गर्ने उद्देश्य रहेको बताएका छन् । पर्वका कारण उत्पन्न व्यावहारिक कठिनाइलाई ध्यानमा राखेर केही समय सहजीकरण गर्ने उनीहरूको भनाइ छ । विद्यालय पक्षका अनुसार आगामी सोमबारदेखि भने विद्यार्थीलाई पूर्ण पोसाक र व्यवस्थित कपालसहित उपस्थित हुन आग्रह गरिनेछ ।
तर, अनुशासनको नाममा विद्यार्थीलाई अपमानित गर्ने, मानसिक दबाब दिने वा इच्छाविपरीत शारीरिक स्वरूप परिवर्तन गर्न बाध्य पार्ने व्यवहार उचित मान्न सकिँदैन । नेपालको शिक्षा नियमावलीको दसौँ संशोधनले विद्यार्थीको शारीरिक, मानसिक तथा मनोसामाजिक अवस्थामा प्रतिकूल असर पर्ने व्यवहारलाई निषेध गरेको छ । त्यसैले विद्यालयको आचारसंहिता कार्यान्वयन गर्दा बालअधिकार र विद्यार्थीको आत्मसम्मानलाई बेवास्ता गर्न मिल्दैन ।
यसको अर्थ विद्यालयले अनुशासन, सरसफाइ र पोसाकसम्बन्धी मापदण्ड लागू गर्न नपाउने भन्ने होइन । तर त्यसको कार्यान्वयन दण्ड, धम्की र अपमानबाट नभई संवाद, परामर्श र सहजीकरणबाट हुनुपर्छ। विद्यार्थीको उमेर, पारिवारिक अवस्था र तत्कालीन परिस्थितिलाई समेत विद्यालयले बुझ्न आवश्यक छ ।
विद्यालयको अनुशासन विद्यार्थीको बाहिरी स्वरूपमा मात्र सीमित हुनु हुँदैन । सिकाइको गुणस्तर, व्यवहार, जिम्मेवारीबोध र मानवीय संस्कारले शैक्षिक संस्थाको वास्तविक पहिचान निर्धारण गर्छन् । त्यसैले कपालको लम्बाइ वा स्वरूपलाई प्रतिष्ठाको विषय बनाउनुभन्दा विद्यार्थीलाई सम्मान गर्दै अनुशासन सिकाउने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता हो ।