शुक्रवार, मंसिर ४ गते २०८३

Friday 20th November 2026

भीमफेदी जिप दुर्घटना

मृतक तीनै जना र सात घाइतेको सनाखत

बिहिवार , मंसिर ३, २०८३

काठमाडौं, ३ मंसिर– मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेनजिक त्रिभुवन राजपथमा आज बिहिवार बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउने तीनै जना र घाइते सातै जनाको पहिचान खुलेको छ ।

मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा, चन्द्रनिगाहपुर नगरपालिका–४ की २२ वर्षीया अस्मिता तिमल्सिना (जेशिका) र सोही स्थानकी २५ वर्षीया अनुसा लामा रहेका छन् ।

दुर्घटनामा सात जना घाइते भएका छन् । घाइते हुनेमा चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर रहेका छन् । घाइतेमध्ये कालुमान लोप्चन दुर्घटनामा परेको जिपका चालकसमेत हुन् ।

प्रहरीका अनुसार आज बिहान करिब ८ बजेर ५५ मिनेटमा हेटौँडाबाट काठमाडौंका लागि जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप भीमफेदी गाउँपालिका–१ भैंसेनजिकै सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेको थियो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र सात जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया