बारा,१३ कात्तिक — बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित हेटौँडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । नेपाल आयल निगमको अमलेखगन्जस्थित डिपो नजिक शुक्रवार भएको दुर्घटनामा डिजेल बोकेको ट्यांकर, यात्रुवाहक हाइस र मोटरसाइकल संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रवार दिउँसो करिब १२ बजे अमलेखगन्जबाट जनकपुरतर्फ गइरहेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकरलाई वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको हाइसले ठक्कर दिएको थियो । त्यसपछि हाइसको पछाडिबाट धरान हुँदै हेटौँडातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकलसमेत ठोक्किएपछि दुर्घटना भएको हो ।
दुर्घटनामा ट्यांकरका चालक, हाइसका चालक, मोटरसाइकल चालक तथा हाइसमा यात्रा गरिरहेका यात्रु गरी १० जना घाइते भएको बारा प्रहरीले जनाएको छ । घाइतेमध्ये जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवाका ५० वर्षीय ट्यांकर चालक चेतनाथ खरेल र कास्कीको पोखरा महानगरपालिका–५ का ३८ वर्षीय हाइस चालक आशिष मल्ल रहेका छन् ।
त्यसैगरी हाइसमा सवार पर्साको वीरगन्ज महानगरपालिका–२ की ४५ वर्षीया समिना खातुन र उनकी २५ वर्षीया छोरी सखीना खातुन पनि घाइते भएका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी २२ वर्षीया आशिका श्रेष्ठ, कास्कीको पोखरा महानगरपालिका–१८ साराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री र भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारणका ७० वर्षीय नवल किशोर साहसमेत दुर्घटनामा परेका छन् ।
अन्य घाइतेमा मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–१६ का २४ वर्षीय सरोज गुभाजु, बाराको प्रसौनी गाउँपालिका–२ का २४ वर्षीय कुनिल पण्डित कुम्हार तथा भारतको पश्चिम बंगालस्थित हुग्लीकी २६ वर्षीया साबनी दास रहेका छन् ।
दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको घटनाविवरणमा उल्लेख छ । उनीहरूको अमलेखगन्जस्थित स्थानीय अक्कल बहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ ।
दुर्घटनापछि अवरुद्ध भएको सडकमा केही समय एकतर्फी यातायात सञ्चालन गरिएको थियो । सवारी आवागमन सहज बनाउने क्रममा दिउँसो १ बजेर ५५ मिनेटदेखि सडकमा दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको हो ।
दुर्घटनामा संलग्न ट्यांकर, हाइस र मोटरसाइकल गरी तीनवटै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । ती सवारीसाधनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अमलेखगन्ज, बारामा राखिएको छ । घटनाको कारण तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।