काठमाडौँ,१३ कात्तिक – सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियालाई लिएर जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियन्त्रणमा राखेको छ ।
प्रहरीले बिहीबार रजौरियालाई सिरहाको लहानबाट र रिजाललाई सिन्धुलीबाट पक्राउ गरी काठमाडौँ पठाएको थियो । पक्राउ परेका दुवै अधिकारी अहिले प्रहरीका कुनै पनि इकाइमा नरहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका एक अधिकृतका अनुसार उनीहरूलाई पक्राउ गरेर काठमाडौँ पठाइएको हो । स्रोतका अनुसार दुवै जनालाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।
सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी मरिण डाइभर्सनको ठेक्का प्रक्रियासम्बन्धी विषयमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
आयोजनाको ठेक्का यसअघि एकपटक रद्द भइसकेको थियो । त्यसपछि पुनः ठेक्का प्रक्रिया अघि बढाइएको थियो । नयाँ प्रक्रियाअन्तर्गत आयोजनाले आर्थिक प्रस्ताव खोल्ने चरणसम्म काम पु¥याइसकेको छ । उक्त प्रक्रियामा तीन चिनियाँ कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका छन् ।
योग्य ठहरिएका कम्पनीमा मेसर्स चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, बेइजिङ, चीन; मेसर्स एन्नेङ–आरसीसी जेभी तथा मेसर्स सिनोहाइड्रो कर्पोरेसन लिमिटेड, चीन रहेका छन् ।
आयोजनाको ठेक्कासम्बन्धी आर्थिक प्रस्ताव खोल्न कात्तिक १६ गतेको मिति निर्धारण गरिएको थियो । तर, प्रधानमन्त्रीको सचिवालयले उक्त ठेक्का प्रक्रिया पुनः रद्द गरी नयाँ प्रक्रियाबाट अघि बढाउन दबाब दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरूको भनाइ छ ।
ठेक्का प्रक्रिया एकपटक रद्द भइसकेपछि पुनः प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाइएको अवस्थामा आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको आयोजना फेरि रद्द गर्न दबाब परेको विषयले थप चासो सिर्जना गरेको छ ।
यद्यपि, दुवै अधिकारीलाई नियन्त्रणमा राख्नुको औपचारिक कानुनी आधार, उनीहरूमाथि लगाइएको आरोप तथा ठेक्का प्रक्रिया पुनः रोक्न खोजिएको विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।