हेटौंडा, २८ असोज– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार बिहान गुम्बाचोक नजिकै भएको दुर्घटनामा हेटौंडा उपमहानगरपालिका–९, एचआईडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङको ज्यान गएको हो ।
प्रहरीका अनुसार हेटौंडा–८ स्थित गुम्बाचोक नजिकै पूर्वपश्चिम राजमार्गमा गुडिरहेको ना ४२ प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग १ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक तामाङ गम्भीर घाइते भएका थिए ।
दुर्घटनालगत्तै गम्भीर घाइते तामाङको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पु¥याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
घटनापछि प्रहरीले ट्रक चालक सर्लाहीको धनकौल गाउँपालिका–१ निवासी ४४ वर्षीय नागेश्वर महतोलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटना के कारणले भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।