काठमाडौं,२८ असोज – बूढानीलकण्ठबाट बरामद भएको २१ किलो ७५० दशमलव ६८ ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको हुनसक्ने संकेत अनुसन्धानबाट देखिएको छ । प्रहरीले अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिकहरूको गतिविधि र उनीहरूले प्रयोग गरेको सवारी साधनको आवतजावतलाई मुख्य आधार बनाएको छ ।
अनुसन्धान अधिकृतहरूका अनुसार चीनको जियाङ्सु ग्वाङडोङ क्षेत्रका २७ वर्षीय हान फिईले ११ असोजदेखि २५ असोजसम्म दैनिक ८ हजार रुपैयाँ भाडा तिर्ने गरी एउटा कार लिएका थिए । उक्त कार ११ दिनको अवधिमा पाँच पटकसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रसम्म पुगेको देखिएको छ । प्रहरी स्रोतका अनुसार कारको पटक–पटकको विमानस्थल आवतजावतले सुन हवाई मार्गबाट आएको हुनसक्ने आशंका बलियो बनाएको छ ।
प्रहरी अनुसन्धानबाट उक्त कार सुन ओसारपसारकै प्रयोजनका लागि प्रयोग भएको हुनसक्ने देखिएको छ । २२ असोजमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मार्दा सोही कारबाट दुई किलो सुन बरामद भएको थियो । चालक सिट नजिकको बक्समा कागजले बेरेर राखिएका एक–एक किलोका दुईवटा सुनका बिस्कुट भेटिएका थिए ।
सुनसहित पक्राउ परेका हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन तीनै जना हवाई मार्ग हुँदै काठमाडौं आएको अध्यागमन अभिलेखले देखाएको छ । उनीहरूमध्ये दुई जना ११ असोजमा र एक जना १५ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । काठमाडौं आएपछि पनि उनीहरू पटक–पटक विमानस्थल पुगेको अनुसन्धानमा उल्लेख छ ।
प्रहरीका अनुसार लेसिलो आकारमा बनाइएको सुन हवाई यात्रामार्फत लुकाएर ल्याउन सहज हुने भएकाले यही माध्यम प्रयोग गरिएको हुनसक्ने प्रारम्भिक विश्लेषण गरिएको छ । यद्यपि, अनुसन्धानले अझै अन्तिम निष्कर्ष भने निकालेको छैन ।
बूढानीलकण्ठको माथिल्लो भंगालस्थित एक घरमा छापा मार्दा उक्त समूहबाट ठूलो परिमाणको सुन बरामद भएको थियो । चिनियाँ नागरिकहरूले मासिक ३ लाख ३० हजार रुपैयाँ भाडामा लिएको साढे दुई तले घर चार महिनाको अग्रिम भुक्तानीसहित लिएको पाइएको छ ।
बरामद भएको सुनको तौल २१ किलो ७५० दशमलव ६८ ग्राम रहेको छ । बरामद भएको दिनको बजार मूल्यअनुसार यसको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको छ । सुन तस्करीको सम्भावित मार्ग, विमानस्थलस्थित भन्सार प्रक्रिया तथा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे समेत अनुसन्धान भइरहेको छ ।