बिहिवार, आश्विन २९ गते २०८३

Thursday 15th October 2026

नेपालबाट पूर्णरूपमा बाहिरियो मनसुन

बुधवार , आश्विन २८, २०८३

काठमाडौं,२८ असोज — नेपालमा यस वर्षको मनसुन औपचारिक रूपमा समाप्त भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज २८ गते मंगलबार यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट पूर्णरूपमा बाहिरिएको जानकारी दिएको हो ।

महाशाखाका अनुसार यस वर्षको मनसुन असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी क्षेत्रका केही भूभागबाट क्रमशः बाहिरिन थालेको थियो । त्यसपछि बाँकी क्षेत्रबाट पनि क्रमिक रूपमा हट्दै मंगलबार देशभरबाट मनसुनको प्रभाव समाप्त भएको हो ।

नेपालमा सामान्यतया जुन १३ अर्थात् जेठ ३० गतेतिर मनसुन प्रवेश गर्ने र अक्टोबर २ अर्थात् असोज १६ गतेतिर बाहिरिने औसत अवस्था रहँदै आएको छ । तर यस वर्ष मनसुन जुन १९ अर्थात् असार ५ गते नेपाल प्रवेश गरेको थियो । यस आधारमा मनसुनको आगमन सामान्य समयभन्दा केही ढिलो भएको थियो भने बाहिरिने समय पनि औसत मितिभन्दा १२ दिन पछाडि पुगेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष मनसुन बाहिरिने औसत अवधिमा देशभर समग्र वर्षाको अवस्था सामान्य नै रह्यो । यद्यपि भौगोलिक क्षेत्रअनुसार वर्षाको मात्रा र प्रतिशतमा भने भिन्नता देखिएको छ । तराई तथा पहाडी क्षेत्रको तुलनामा हिमाली भूभागमा तुलनात्मक रूपमा बढी वर्षा भएको मौसमविद्हरूले बताएका छन् ।

मनसुनको विदाइसँगै अब नेपालको मौसम प्रणालीमा क्रमिक सुधार आउने अनुमान गरिएको छ । मौसमविद्हरूका अनुसार आगामी केही दिन देशका अधिकांश स्थानमा मौसम घमाइलो रहने सम्भावना छ । विशेषगरी दशैं अवधिमा अधिकांश क्षेत्रमा आकाश खुला रहने र यात्राका लागि पनि मौसम अनुकूल रहने अपेक्षा गरिएको छ ।

यद्यपि पहाडी भूभागका एक–दुई स्थानमा स्थानीय वायुको प्रभावका कारण छिटपुट वर्षा हुन सक्ने सम्भावना भने कायमै रहेको मौसमविद्हरूले बताएका छन् । तर यसको प्रभाव व्यापक नहुने र देशभरको समग्र मौसम अवस्था सामान्यदेखि सफा रहने पूर्वानुमान गरिएको छ ।

यस वर्षको मनसुन अवधिमा भएको वर्षाले कृषि क्षेत्र, जलस्रोत तथा जनजीवनमा विभिन्न प्रभाव पारेको थियो । अब मनसुन सकिएसँगै नेपालमा क्रमशः हिउँदे मौसमको प्रभाव सुरु हुने मौसमविद्हरूको भनाइ छ ।

प्रतिक्रिया