सिन्धुली,२८ असोज – सिन्धुलीको कमलामाई नगरपालिका–४, मिलनचोकस्थित मदन भण्डारी राजमार्गमा रोकिराखेको ईभी विंगरमा मोटरसाइकल ठोक्किँदा एक किशोर घाइते भएका छन् ।
मंगलबार दिउँसो करिब १२ः३० बजे सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १३०८ नम्बरको ईभी विंगरमा सोही दिशातर्फ गुडिरहेको प्रदेश २–०२–००५ प १०२७ नम्बरको मोटरसाइकल ठोक्किएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले बुधवार जानकारी दिएको छ ।
दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–४, ढकालगाउँ निवासी १७ वर्षीय मोटरसाइकल चालक डेबिट ढकाल घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिएको छ । जिल्ला अस्पताल सिन्धुलीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ललितपुरस्थित बीएन्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको छ। उपचारमा आमा विद्या ढकाल संलग्न छिन् ।
ईभी विंगर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२, सानोपोखरा निवासी ४७ वर्षीय प्रेम कार्कीले चलाएका थिए ।
प्रहरीले दुवै सवारीसाधन र ईभी विंगरका चालकलाई नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीमा राखेको जनाएको छ ।