काठमाडौं,२५ असोज — नेपाली काँग्रेसको गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनमा पार्टीको १ करोड ६४ लाख रुपैयाँभन्दा बढी खर्च भएको विवरण सार्वजनिक भएको छ । जारी १५औँ महाधिवेशनका क्रममा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन बन्दसत्रबाट पारित भएसँगै उक्त खर्च विवरण सार्वजनिक भएको हो ।
प्रतिवेदनअनुसार काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म आयोजित विशेष महाधिवेशनमा सहभागी करिब २ हजार ७ सय प्रतिनिधिको आवास तथा भोजन व्यवस्थापनसहित कुल १ करोड ६४ लाख ५९१ रुपैयाँ खर्च भएको उल्लेख छ ।
विशेष महाधिवेशनको औचित्य र प्रक्रियालाई लिएर काँग्रेसभित्र अझै मतभेद कायम छ । तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन आयोजना प्रक्रिया नै त्रुटिपूर्ण रहेको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन हाल विचाराधीन अवस्थामा रहेको छ ।
आर्थिक प्रतिवेदनमा गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीले २ करोड ९६ लाख ५१ हजार ४०६ रुपैयाँ खर्च गरेको उल्लेख छ । त्यस्तै, आर्थिक वर्ष २०८२÷८३ मा पार्टी कार्यालय सञ्चालनका लागि १ करोड ७७ लाख ६४ हजार ४३३ रुपैयाँ खर्च भएको जनाइएको छ ।
काँग्रेसले आर्थिक वर्ष २०८२÷८३ मा सदस्यता, लेवी तथा नवीकरण शुल्कबाट ५५ लाख ७७ हजार ९२१ रुपैयाँ, चन्दा तथा सहयोगबाट १ करोड ५३ लाख ९२ हजार रुपैयाँ र अन्य स्रोतबाट ३६ लाख २० हजार ४३८ रुपैयाँ आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी चालु आर्थिक वर्ष २०८३÷८४ को असोज १५ गतेसम्म पार्टीले सदस्यता, लेवी तथा नवीकरण शुल्कबाट ४ करोड ९६ लाख ९ हजार २१० रुपैयाँ आम्दानी गरेको छ । सो अवधिमा अन्य स्रोतबाट १ करोड ५४ लाख ९० हजार रुपैयाँ प्राप्त भएको जनाइएको छ ।
चालु आर्थिक वर्षको असोज १५ गतेसम्म पार्टी कार्यालय सञ्चालनतर्फ ९ लाख २० हजार ९५४ रुपैयाँ खर्च भएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । काँग्रेसले महाधिवेशन, निर्वाचन, संगठन सञ्चालन तथा नियमित गतिविधिसम्बन्धी आय–व्यय विवरण सार्वजनिक गर्दै आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेको जनाएको छ ।