सिन्धुली,२१ असोज– कमलामाई नगरपालिका–१४ स्थित तल्लो रानीबास क्षेत्रबाट संरक्षित वन्यजन्तु हात्तीको दाह्राजस्तो देखिने करिब ६ किलोग्राम तौलको आखेटोपहण्रसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले सोमबार उक्त आखेटोपहार १ थानसहित उनीहरूलाई नियन्त्रणमा लिएको ब्यूरोले जनाएको छ ।
ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर राणाका अनुसार पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१४ का ६० वर्षीय सोमबहादुर माझी भन्ने पोरे माझी र महोत्तरीको बर्दिबास नगरपालिका–५ का ६० वर्षीय चित्रबहादुर विश्वकर्मा रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले वन्यजन्तुको अंगको अवैध कारोबारसम्बन्धी अनुसन्धानका क्रममा उनीहरूलाई तल्लो रानीबास क्षेत्रबाट उक्त आखेटोपहारसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बरामद वस्तु संरक्षित वन्यजन्तु हात्तीको दाह्राजस्तो देखिने करिब ६ किलोग्राम तौलको १ थान आखेटोपहार हो । पक्राउ परेका माझी र विश्वकर्मालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय सिन्धुलीमा पठाइएको छ ।
वन्यजन्तुका अंग तथा त्यसको अवैध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।