बिहिवार, आश्विन २२ गते २०८३

Thursday 8th October 2026

सिन्धुलीमा नोबेल ग्यास पर्याप्त मात्रामा भित्रिदा पनि अभाव किन ?

बुधवार , आश्विन २१, २०८३


सिन्धुली,२१ असोज — सिन्धुलीका विभिन्न डिपोमा एक हप्तमा करिब ४ हजार थान नोबेल ग्यास सिलिन्डर भित्रिएर सर्वसाधारणलाई वितरण भइरहेको जानकारी प्राप्त भइरहँदा पनि बजारमा ग्यासको अभाव र उपभोक्ताको लामो लाइन कायमै देखिएपछि आपूर्ति तथा वितरण प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । सिन्धुलीमा असोज १५ गते १६ सय ६८ र २१ गते २ हजार २८२ सिलिण्डर ग्यास भित्रिएको  छ ।  यसरी पर्याप्त परिमाणमा सिलिन्डर जिल्लामा आई पुगेको भनिए पनि वास्तविक उपभोक्ताले सहज रूपमा ग्यास नपाउनु, रित्तो सिलिन्डर बोकेर प्रतीक्षा गर्नुपर्ने अवस्था रहनु तथा विशेषतः नोबेल ग्यासकै लागि लाइन देखिनुले वितरण प्रक्रियाको पारदर्शितामाथि चासो बढाएको छ ।

6-15.jpg
undefined

बजारमा देखिएको अवस्थाले एउटा स्वाभाविक प्रश्न अघि सारेको छ—यदि करिब एक हप्तामा करिव ४ हजार थान सिलिन्डर विभिन्न डिपोमा पुगेका हुन् भने उपभोक्ताले सहज रूपमा ग्यास किन पाउन सकेका छैनन ? कुन डिपोमा कति सिलिन्डर पुगे, तीमध्ये कति बिक्री भए, कसलाई वितरण गरियो र वितरणमा कुनै असामान्य प्रवृत्ति देखियो वा देखिएन भन्ने विषय सार्वजनिक रूपमा स्पष्ट हुनुपर्ने माग उठेको छ ।

6-21.jpg
undefined


यसैबीच, केही व्यापारीले ग्यासको बिक्री–वितरण अस्वाभाविक ढङ्गले गरिरहेको भन्ने मौखिक गुनासा तथा सूचनासमेत आएका छन् । सर्वसाधारण नागरिक रित्तो सिलिन्डर बोकेर लाइनमा बसिरहँदा केही सीमित व्यक्तिले मनोमानी रूपमा ठूलो संख्यामा सिलिन्डर संकलन गरिरहेको हुन सक्ने आशंका स्थानीयस्तरमा व्यक्त गरिएको छ । यस्ता गुनासाको स्वतन्त्र पुष्टि भने भइसकेको छैन, तर आपूर्ति पर्याप्त हुँदाहुँदै अभाव देखिनुले प्रभावकारी अनुगमनको आवश्यकता बढाएको छ ।

खाना पकाउने ग्यास दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक उपभोग्य वस्तु हो । यस्तो वस्तुको आपूर्ति र बिक्रीमा असन्तुलन देखिँदा त्यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामाथि पर्छ । पर्याप्त आपूर्ति भएको भनिएको अवस्थामा पनि बजारमा ग्यास नपाइने, उपभोक्ताले पालो पर्खनुपर्ने र एउटा ब्रान्डका सिलिन्डरका लागि विशेष भीड देखिनु सामान्य आपूर्ति समस्यामात्र हो कि वितरण तहमा व्यवस्थापकीय कमजोरी वा अनियमितता छ भन्ने विषय छानबिनबाट स्पष्ट हुनुपर्ने देखिन्छ ।

विशेषतः सिन्धुलीमा किन नोबेल ग्यासकै लागि लामो लाइन देखिएको हो भन्ने प्रश्नलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिनुपर्ने माग गरिएको छ । जिल्लामा भित्रिएका करिब ४ हजार सिलिन्डर कुन–कुन डिपोमार्फत वितरण भए, वास्तविक उपभोक्ताले कति पाए, एउटै व्यक्ति वा समूहले अस्वाभाविक संख्यामा सिलिन्डर लिएको छ कि छैन र वितरणको अभिलेख व्यवस्थित छ कि छैन भन्ने विषय अनुगमनको प्रमुख आधार बन्नुपर्ने सरोकारवालाको भनाइ छ ।

ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक रूपमा संकलन गर्ने वा कालोबजारी गर्ने गतिविधि पुष्टि भए तत्काल नियन्त्रण र कारबाही गर्नुपर्ने मागसमेत उठेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय, सिन्धुलीसहित सम्बन्धित नियमनकारी निकायले निष्पक्ष अनुगमन गरी वितरणको वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

सरोकारवालाहरूले वास्तविक उपभोक्तालाई प्राथमिकता दिने स्पष्ट व्यवस्था, प्रति उपभोक्ता वितरणको अभिलेख, डिपोअनुसार आपूर्ति र बिक्री विवरण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । आवश्यक परे बिक्री–वितरण प्रक्रियामै तत्काल निगरानी बढाएर अस्वाभाविक संकलन रोक्नुपर्ने उनीहरूको माग छ ।

एकै दिन ठूलो परिमाणमा ग्यास भित्रिएको सूचना र बजारमा देखिएको अभावबीचको अन्तरले अब प्रश्न आपूर्ति कति भयो भन्नेमा मात्र सीमित छैन। मुख्य प्रश्न बनेको छ—सिन्धुलीमा आएको ग्यास कहाँ गयो, कसले कति पायो र पर्याप्त आपूर्तिका बीच पनि सर्वसाधारण किन लाइनमा बस्न बाध्य छन ?

प्रतिक्रिया