सिन्धुली,२१ असोज— बालबालिकाको स्वस्थ, सुरक्षित र सर्वाङ्गीण विकासमा परिवारको भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित सुनकोशी गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रारम्भिक बाल विकास तथा अभिभावक शिक्षासम्बन्धी तालिम प्रदान गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स नेपाल)को साझेदारी तथा सुनकोशी गाउँपालिकाको समन्वयमा २०८३ असोज १८ देखि २१ गतेसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका वडा नम्बर १, २ र ५ मा कार्यरत १८ जना महिला स्वास्थ्य स्वयंसेविका सहभागी भएका थिए ।
समुदाय र परिवारसँग नियमित सम्पर्कमा रहने महिला स्वास्थ्य स्वयंसेविकामार्फत प्रारम्भिक बाल विकासका आधारभूत पक्ष अभिभावकसम्म पु¥याउने उद्देश्यले आयोजना गरिएको तालिममा गर्भावस्थादेखि नै बालबालिकाको उचित हेरचाह गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ समेटिएको थियो । बालबालिकाको पोषण तथा स्वास्थ्य, सुनौलो हजार दिनको महत्व, उमेरअनुसारको सिकाइ, सर्वाङ्गीण विकास तथा बालबालिकाको विकासमा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाबारे सहभागीलाई जानकारी दिइएको थियो । विषयवस्तुलाई व्यवहारमा उतार्न सहयोग पुग्ने गरी तालिममा व्यवहारिक अभ्याससमेत गराइएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार तालिमको प्रमुख लक्ष्य महिला स्वास्थ्य स्वयंसेविकाको प्रारम्भिक बाल विकाससम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु हो । तालिमबाट सक्षम बनेका स्वयंसेविकाले आफ्नो कार्यक्षेत्रका परिवार र अभिभावकलाई बालबालिकाको उचित हेरचाह, पोषण, स्वास्थ्य तथा सिकाइका विषयमा आवश्यक परामर्श र सचेतना दिन सक्ने अपेक्षा गरिएको छ ।
तालिममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाले प्रारम्भिक बाल विकासलाई बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने धारणा राखेका थिए। बालबालिकाको जीवनको प्रारम्भिक चरणमा प्राप्त हुने हेरचाह र वातावरणले उनीहरूको समग्र विकासमा प्रभाव पार्ने भएकाले परिवारसँगै समुदायले पनि यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ थियो ।
सहभागीहरूले बालबालिकाका लागि पर्याप्त तथा उचित पोषण, स्वास्थ्य सेवा, सुरक्षित वातावरण, माया–ममता र उमेरअनुकूल सिकाइको अवसर सुनिश्चित गर्न अभिभावकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए । बालबालिकाको विकासलाई स्वास्थ्य वा शिक्षाको विषयमा मात्र सीमित नगरी उनीहरूको शारीरिक, मानसिक, भावनात्मक तथा सिकाइसँग जोडिएको समग्र प्रक्रियाका रूपमा बुझ्नुपर्ने विषयमा समेत तालिममा जोड दिइएको थियो ।
तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै अभिभावक तथा परिवारसम्म प्रारम्भिक बाल विकाससम्बन्धी सन्देश पु¥याउने प्रतिबद्धता सहभागी महिला स्वास्थ्य स्वयंसेविकाले व्यक्त गरेका छन्। यसबाट समुदायमा प्रारम्भिक बाल विकाससम्बन्धी चेतना विस्तार हुनुका साथै बालबालिकाको स्वस्थ, सुरक्षित र समग्र विकासका लागि परिवार तथा समुदायको भूमिका थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।