डोटी,२० असोज — जोरायल गाउँपालिका–०१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मंगलवार बिहान ८ः४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–०५ निवासी २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए ।
दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो । घाइतेहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली पठाइएको छ ।
घाइते हुनेमा जोरायल गाउँपालिका–०१ चपरचानीका ३३ वर्षीय अमर सिजाली मगर, ४६ वर्षीय डम्बर थापा, १८ वर्षीय भरत थापा मगर र १८ वर्षीय विवस थापा मगर छन् । यस्तै, गोगन पानीका ५२ वर्षीय जितबहादुर बि.क., धानाकोटका ३२ वर्षीय रुपलाल बि.क. र ३२ वर्षीया अनिषा बि.क., सपुरसानिका ३५ वर्षीय हर्कबहादुर थापा मगर तथा भानाकोट निवासी अनिषा बि.क.की ३ वर्षीया छोरी करिश्मा बि.क. घाइते भएका छन् । दुर्घटनाको कारण तथा अन्य परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।