मंगलवार, आश्विन २० गते २०८३

Tuesday 6th October 2026

कांग्रेस केन्द्रीय सदस्यमा मुकेश घिमिरेको दाबी

मंगलवार , आश्विन २०, २०८३

काठमाडौं,२० असोज – नेपाली कांग्रेसको १५ औं माहाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि मुकेश घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । सिन्धुलीका घिमिरेले पार्टीभित्र युवाको सहभागिता र पुस्तान्तरणको बहसलाई अघि सार्दै ३५ वर्षमुनिको युवा कोटातर्फ केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

घिमिरेले बागमती प्रदेशबाट युवा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी प्रस्तुत गरेका छन् । काँग्रेसको व्यवस्थाअनुसार ३५ वर्षमुनिका युवामध्येबाट सातै प्रदेशको प्रतिनिधित्व हुने गरी २१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट ३ जनाका दरले युवा केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था रहेको छ ।

उम्मेदवारी घोषणा गर्दै घिमिरेले नेपाली काँग्रेसभित्र सुरु भएको रूपान्तरणको अभियानलाई संस्थागत रूपमा अघि बढाउनु आफ्नो प्रमुख उद्देश्य रहेको बताएका छन् । पार्टीको ऐतिहासिक विरासतको संरक्षणसँगै नयाँ पुस्ताको ऊर्जा र भूमिकालाई प्रभावकारी रूपमा जोड्नुपर्नेमा उनले जोड दिएका छन् ।

“रूपान्तरणको अभियानलाई संस्थागत गर्न मैले आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु,” घिमिरेले उम्मेदवारी घोषणा गर्दे भनेका छन्, “नेपाली काँग्रेसलाई अनुभव र उर्जाको संगम बनाउन मेरो प्रयत्न रहनेछ । अग्रजको बलिदान र योगदान हाम्रो इतिहास मात्र होइन गर्विलो सम्पती हो । त्यो संरक्षण गर्नु हाम्रो संस्कार हो ।”

उनको अभिव्यक्तिले पार्टीमा अग्रज पुस्ताको योगदानलाई सम्मान गर्दै युवा पुस्तालाई निर्णय प्रक्रिया र नेतृत्वमा थप सक्रिय बनाउने अवधारणालाई प्राथमिकतामा राखेको देखिन्छ । उनले अनुभव र युवाको ऊर्जाबीच समन्वय कायम गरेर कांग्रेसको संगठनात्मक रूपान्तरणलाई संस्थागत गर्न आफ्नो भूमिका केन्द्रित हुने बताएका छन् ।

काँग्रेसमा युवा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्थाअन्तर्गत ३५ वर्षमुनिका लागि छुट्याइएको केन्द्रीय सदस्य पदमा सात प्रदेशबाट समान संख्यामा प्रतिनिधि निर्वाचित हुनेछन् । त्यसअनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातै प्रदेशबाट ३–३ जना निर्वाचित हुँदा युवा कोटाबाट कुल २१ जना केन्द्रीय सदस्य केन्द्रीय समितिमा पुग्नेछन् ।

यसै व्यवस्थाअन्तर्गत बागमती प्रदेशबाट उम्मेदवारी घोषणा गरेका घिमिरेले काँग्रेसको ऐतिहासिक योगदान र अग्रजको बलिदानलाई संरक्षण गर्दै नयाँ पुस्ताको ऊर्जा पार्टी निर्माणमा उपयोग गर्ने धारणा अघि सारेका छन् । रूपान्तरणको अभियानलाई संस्थागत गर्ने प्रतिबद्धतासहित उनले युवा समूहबाट केन्द्रीय नेतृत्वमा पुग्ने प्रयास थालेका हुन् ।

प्रतिक्रिया