सिन्धुली,२० असोज — मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–३, ग्वालटारमा सुमोले ठक्कर दिँदा पाँच वर्षीया बालिका घाइते भएकी छन् । सडक पार गर्ने क्रममा सुमोको ठक्करबाट घाइते भएकी बालिकाको गोलन्जोर आधारभूत अस्पतालमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
सोमवार बिहान करिब ९ः१० बजेको काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना.१ज.७९१० नम्बरको सुमोले गोलन्जोर गाउँपालिका–३, ग्वालटार निवासी रामबहादुर कार्कीकी पाँच वर्षीया छोरी आइसा कार्कीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा आइसा कार्कीको टाउको, ढाड र दाहिने खुट्टाको पैतालामा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ ।
प्रहरीका अनुसार सुमो सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका–५ निवासी २५ वर्षीय सन्तोष भुजेलले चलाएका थिए । दुर्घटनापछि सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भुजेल पनि घाइते बालिकाको उपचार प्रक्रियामा संलग्न रहेको जनाइएको छ ।