३४ वर्षअघि झलनाथ खनालसँग गरेको त्यो अन्तर्वार्ता

बुधवार , आश्विन १४, २०८३

पुरानो अखबार पल्टाउँदै जाँदा त्यो अन्तर्वार्ता फेरि भेटियो । मैले तत्कालीन नेकपा एमालेका पोलिटब्युरो सदस्य झलनाथ खनालसँग गरेको लामो अन्तर्वार्ता थियो । ‘जनादेश साप्ताहिक’मा छापिएको ३४ वर्ष बितिसकेछ ।

कागज पुरानो भयो । अक्षरहरू धमिला भए । तर, प्रश्नहरू पुराना भएका छैनन् । साँच्चै, आज ती प्रश्न अझ गम्भीर लाग्छन् । हामी त्यही प्रश्नको वरिपरि चक्कर लगाइरहेका छौँ । हामीले विश्व इतिहासका कमजोरीबाट किन सिक्न सकेनौँ ?

त्यतिबेला नेपालमा २०४६ सालको जनआन्दोलन भएर संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था सुरु भएको तीन वर्ष पनि पूरा भएको थिएन । देश नयाँ राजनीतिक बाटोमा थियो । तर, विश्व भने ठूलो संकटमा थियो । पूर्वी युरोपका समाजवादी सत्ता ढलेका थिए । केही वर्षअघि सोभियत संघ पनि विघटन भइसकेको थियो ।

अर्थात्, मैले खनालसँग कुरा गर्दा संसारले एउटा ठूलो राजनीतिक युगको अन्त्य भर्खरै देखेको थियो । त्यतिबेला एउटा प्रश्न विश्वभर थियो, समाजवादी सत्ता किन ढल्यो ? हजारौँ, लाखौँको बलिदानले निर्माण गरेको सत्ता किन टिकेन ? दशकौँको संघर्ष र बलिदानबाट बनेका पार्टीहरू किन जनताबाट टाढिए ? अनि सबैभन्दा ठूलो प्रश्न थियो, कम्युनिस्ट आन्दोलनले अब के सिक्ने ? त्यही प्रश्न मैले झलनाथ खनालसँग गरेको थिएँ ।

उहाँ त्यतिबेला सभामुख दमननाथ ढुंगानाको नेतृत्वमा बुल्गेरिया र अल्बेनियाको भ्रमण गरेर फर्किनुभएको थियो । बुल्गेरियामा सन् १९४६ देखि १९८९ सम्म बुल्गेरियन कम्युनिस्ट पार्टीको प्रभुत्व थियो र देश सोभियत संघको प्रभावक्षेत्रमा थियो । त्यस्तै, अल्बेनियामा सन् १९४६ देखि १९९०–९१ सम्म कम्युनिस्ट पार्टी–राज्य व्यवस्था कायम थियो । उहाँको भ्रमण अनुभव सुन्नु निकै रोचक थियो ।

उहाँले भन्नुभएको थियो, ती देशहरूमा क्रान्ति हुँदा जनताले ठूलो आशा गरेका थिए । शोषणविहीन समाज बन्छ भन्ने विश्वास गरेका थिए । देशमा तीव्र विकास हुन्छ भन्ने सोचेका थिए । त्यसैले जनता उत्साहका साथ क्रान्तिमा लागेका थिए । समाजवादी व्यवस्थाले सुरुमा शिक्षा र सामाजिक सुरक्षाका क्षेत्रमा राम्रो काम पनि गरेको थियो ।

तर, समस्या अर्को ठाउँमा आयो । पुँजीवादी लोकतन्त्रभन्दा समाजवादी लोकतन्त्र अझ उन्नत हुनुपर्छ भन्ने मान्यता व्यवहारमा लागू भएन । जनता राजनीतिक र आर्थिक रूपमा ठगिए । उहाँले त्यस अन्तर्वार्तामा जोड दिएर भन्नुभएको थियो, सर्वहारा वर्गको अधिनायकत्वका नाममा पार्टीको अधिनायकत्व आयो । पार्टीको अधिनायकत्वका नाममा व्यक्ति वा समूहको अधिनायकत्व आयो ।

उहाँले ३४ वर्षअघि भनेका कुरा आज फेरि पढ्दा झस्काउने खालका लाग्छन् । किनभने प्रश्न त्यहीँ छ, क्रान्ति कसका लागि ? सत्ता कसका लागि ? पार्टी कसका लागि ? र, लोकतन्त्र कसका लागि ?

सत्ता परिवर्तन गर्नु एउटा कुरा हो । समाज परिवर्तन गर्नु अर्को कुरा हो । पुरानो सत्ता हटाउनु एउटा कुरा हो । नयाँ सत्ता कस्तो बनाउने भन्ने कुरा अर्को हो । यही ठाउँमा कम्युनिस्ट आन्दोलनको वास्तविक परीक्षा सुरु हुन्छ ।

पूर्वी युरोप र सोभियत संघको पतनलाई एउटा मात्र कारणले बुझ्न सकिँदैन । आर्थिक समस्या थिए । राजनीतिक जडता थियो । राष्ट्रियताका प्रश्न थिए । नेतृत्व संकट थियो । अन्तर्राष्ट्रिय दबाब थियो । समाज बदलिँदै थियो ।

तर पार्टी र राज्यभित्रको लोकतन्त्रको कमजोरी पनि एउटा गम्भीर प्रश्न थियो । आलोचना कमजोर भयो भने पार्टी कमजोर हुन्छ । फरक मत दबाइयो भने विचार कमजोर हुन्छ । नेतृत्वमाथि प्रश्न गर्न नसकिने अवस्था आयो भने नेतृत्व पनि कमजोर हुन्छ । समाज बदलिँदा कार्यदिशा बदल्न सकिएन भने संगठन समयभन्दा पछाडि पर्छ । यो इतिहासको एउटा महत्वपूर्ण पाठ हो ।
त्
यो बेला हामी अरूको पतन हेरिरहेका थियौँ । आज आफ्नै आन्दोलनलाई हेर्नुपर्ने बेला आएको छ । ३४ वर्षमा नेपाल धेरै टाढा आइपुगेको छ । राजतन्त्र समाप्त भयो । गणतन्त्र आयो । संघीयता आयो । समावेशिता आयो । समानुपातिक प्रतिनिधित्व आयो । संविधान बदलियो । राज्यको संरचना बदलियो । संघमा झण्डै दुई तिहाइको नेकपाको सरकार बन्यो । अधिकांश प्रदेश र स्थानीय तहमा बलियो सरकार बने ।

तर, प्रश्न जहाँको तहीँ छ । पार्टीभित्रको लोकतन्त्र कति बदलियो ? नेतृत्वको केन्द्रीकरण कति घट्यो ? फरक मतलाई कति ठाउँ दिइयो ? कार्यकर्ताले नेतृत्वलाई कति प्रश्न गर्न पाउँछन् ? आलोचना–आत्मालोचना कति जीवन्त छ ?

र, सबैभन्दा महत्वपूर्ण कुरा, बदलिएको समाजअनुसार कम्युनिस्ट आन्दोलनको कार्यदिशा कति बदलिएको छ ? यही प्रश्नलाई २०४९ सालको त्यो अन्तर्वार्तासँग जोडेर हेर्नुपर्छ । किनभने त्यसपछि विश्व पनि फेरि बदलिएको छ । सोभियत संघ विघटन भएपछि लामो समय अमेरिकी प्रभुत्वको एकध्रुवीय विश्व बन्यो ।

तर, आज त्यो अवस्था पहिले जस्तो छैन । विश्व शक्ति संरचना फेरिँदैछ । चीन ठूलो शक्ति बनेको छ । रूसले आफ्नो सामरिक र कूटनीतिक प्रभाव पुनःस्थापित गर्ने प्रयास गरिरहेको छ । पछिल्ला वर्षमा विश्व अर्थतन्त्रमा ग्लोबल साउथको बढ्दो भूमिका र बहुध्रुवीयताको प्रक्रियालाई महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ ।

यसको अर्थ संसार फेरि सोभियत युगमा फर्कियो भन्ने होइन । चीन सोभियत संघ होइन । रूस पनि सोभियत संघ होइन । ब्रिक्स पनि वार्सा सन्धि होइन । तर विश्व बदलिएको छ । एक मात्र शक्ति केन्द्रले सबै कुरा निर्धारण गर्ने समयबाट विश्व धेरै केन्द्रबीचको प्रतिस्पर्धा र सहकार्यतिर गइरहेको छ । यो परिवर्तन नेपाली कम्युनिस्ट आन्दोलनका लागि पनि ठूलो प्रश्न हो । किनभने २०४९ को र २०८३ को राजनीतिक व्यवस्थाबारेको बहस एउटै हुन सक्दैन ।

त्यतिबेला झलनाथ खनाल स्वयं नयाँ जनवादी व्यवस्थाको पक्षमा हुनुहुन्थ्यो । मैले अन्तर्वार्ता लिने समयमा मदन भण्डारीले अगाडि सारेको बहुदलीय जनवाद कि नयाँ जनवाद भन्नेबारे पार्टीमा बहस चलिरहेको थियो । त्यसको अढाई महिनापछि एमालेको पाँचौँ महाधिवेशन हुँदै थियो ।

त्यो अन्तर्वार्तामा बहुदलीय जनवादको एउटा राजनीतिक कार्यक्रम अगाडि सारेर नयाँ जनवादका सांस्कृतिक र आर्थिक कार्यक्रमलाई उपेक्षा गर्न नमिल्ने खनालको जिकिर थियो । त्यतिबेलाको मुख्य प्रश्न राज्यको स्वामित्वको थियो ।

आज त्यससँगै प्रविधि छ । कृत्रिम बुद्धिमत्ता छ । डिजिटल अर्थतन्त्र छ । प्लेटफर्म अर्थतन्त्र छ । नयाँ प्रकारको श्रम छ । युवा पुस्ताको नयाँ चेतना छ । विश्व बजार छ । बहुराष्ट्रिय पुँजी छ । जलवायु संकट छ । अनि विश्व शक्ति सन्तुलनको तीव्र परिवर्तन छ ।

त्यसैले पुरानो नाराले मात्र नयाँ समाजको उत्तर दिँदैन । नयाँ कार्यदिशा चाहिन्छ । नयाँ अध्ययन चाहिन्छ । नयाँ बहस चाहिन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, बहस गर्ने संस्कार चाहिन्छ । इतिहासबाट भागेर होइन, इतिहासभित्र पसेर सोभियत संघ किन ढल्यो भनेर पढ्नुपर्छ । पूर्वी युरोप किन बदलियो भनेर बुझ्नुपर्छ । त्यहाँका उपलब्धि पनि हेर्नुपर्छ । कमजोरी पनि हेर्नुपर्छ । पतनका कारण पनि खोज्नुपर्छ ।

त्यसबाट नेपालका लागि के पाठ हुन्छ भन्ने छुट्याउनुपर्छ । हाम्रै उचाइमा पुगेको आन्दोलन, सरकार ढलेका र इतिहासमा उल्लेखनीय भूमिका खेलेको नेतृत्वको पतनको निर्मम समीक्षा हुनुपर्छ । हामीले नक्कल गर्नु हुँदैन । अस्वीकार मात्र पनि गर्नु हुँदैन । अध्ययन गर्नुपर्छ । बहस गर्नुपर्छ । त्यसैले अब एउटा नयाँ बहस मञ्चको आवश्यकता छ ।

त्यो कुनै पार्टीको गुटको मञ्च हुनु हुँदैन । कुनै नेताको प्रशंसा गर्ने मञ्च पनि हुनु हुँदैन । कम्युनिस्ट आन्दोलनका उपलब्धि र कमजोरी दुवैबारे खुला बहस गर्ने ठाउँ हुनुपर्छ । माक्र्सलाई फेरि पढ्ने ठाउँ हुनुपर्छ । लेनिनलाई फेरि पढ्ने ठाउँ हुनुपर्छ । माओलाई फेरि पढ्ने ठाउँ हुनुपर्छ । तर त्यत्तिमै रोकिनु हुँदैन ।

सोभियत अनुभव पढ्नुपर्छ । चीनको अनुभव पढ्नुपर्छ । भियतनाम पढ्नुपर्छ । क्युबा पढ्नुपर्छ । पूर्वी युरोप पढ्नुपर्छ । पुँजीवादको नयाँ रूप पनि पढ्नुपर्छ । प्रविधिले समाज कसरी बदल्दैछ भनेर पनि पढ्नुपर्छ ।

नेपालको आफ्नै अनुभवलाई पनि त्यही कठोरताका साथ हेर्नुपर्छ । जनयुद्धबाट के सिकियो ? शान्ति प्रक्रियाबाट के सिकियो ? गणतन्त्रबाट के सिकियो ?

सरकार चलाउँदा कहाँ सफल भयौँ ? कहाँ चुक्यौँ ? जनताबाट किन टाढिँदै गयौँ ? पार्टीभित्र किन प्रश्नहरू सानो हुँदै गए ? यी सबै प्रश्नमाथि बहस हुनुपर्छ ।


किनकि इतिहासलाई स्मरण गर्नुको अर्थ विगतको पूजा गर्नु होइन । इतिहासबाट सिक्नु हो ।

३४ वर्षअघि मैले झलनाथ खनालसँग प्रश्न गरेको थिएँ, समाजवादी सत्ता किन ढले ? आज त्यो प्रश्न फेरि फर्किएको छ । तर यसपटक प्रश्न अलि फरक छ । त्यो इतिहासबाट हामीले किन सिक्न सकेनौँ ? अनि अर्को प्रश्न अझ ठूलो छ, विश्व बदलिँदा हामी कति बदलियौँ ?सरकार, सत्ता प्राप्त गर्नु महत्वपूर्ण छ । तर सरकार, सत्ता प्राप्त गरेपछि समाजलाई कुन दिशामा लैजाने भन्ने प्रश्न अझ महत्वपूर्ण छ ।

पार्टी बनाउनु महत्वपूर्ण छ । तर, पार्टीभित्र लोकतन्त्र कसरी जोगाउने भन्ने प्रश्न त्यत्तिकै महत्वपूर्ण छ । क्रान्तिको इतिहास महत्वपूर्ण छ । तर नयाँ पुस्ताका लागि नयाँ सपना निर्माण गर्नु अझ महत्वपूर्ण छ ।

३४ वर्षअघि हामीले अरूको पतनबारे प्रश्न गरेका थियौँ । आज आफ्नै आन्दोलनको भविष्यबारे प्रश्न गरिरहेका छौँ । त्यसैले पुरानो अन्तर्वार्तालाई फेरि पढ्नु मेरो लागि स्मरण मात्र भएन । यो एउटा निम्तो हो । नयाँ बहसको निम्तो । पुराना निष्कर्षलाई फेरि जाँच्ने निम्तो । इतिहासलाई नयाँ आँखाले पढ्ने निम्तो ।

र, सबैभन्दा महत्वपूर्ण कुरा, नेपाली कम्युनिस्ट आन्दोलनलाई फेरि जनतासँग, नयाँ विचारसँग र बदलिँदो विश्वसँग जोड्ने नयाँ वैचारिक बहस मञ्च निर्माण गर्ने निम्तो । किनकि इतिहासले दिएको सबैभन्दा ठूलो शिक्षा यही हो, आफ्नो कमजोरी स्वीकार गरेर आफूलाई बदल्न नसक्ने आन्दोलनलाई समयले बदलिदिन्छ ।

अब प्रश्न हाम्रो अगाडि छ, समयले हामीलाई बदल्ने कि हामीले समयलाई बुझेर आफूलाई बदल्ने ? रातोपाटीबाट साभार ।

प्रतिक्रिया