अविरल वर्षाको कहर : चार दिनमै १३ को मृत्यु, देशभर सडक सञ्जाल अस्तव्यस्त

आइतवार , आश्विन ११, २०८३

काठमाडौँ,११ असोज — मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र रुख ढलेका घटनामा परी देशभर हालसम्म १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामै ७ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए ।

मृत्यु हुनेमा पाल्पाका एक, सिराहाका एक, सुर्खेतका एक, रोल्पाका एक, बागलुङका एक, रुकुम पश्चिमका एक, काभ्रेपलाञ्चोकका एक ,धनुषामा इक र मकवानपुरका एक जना रहेका छन् । यसैगरी असोज ९ गते पाल्पाकी एक महिला बेपत्ता भएको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको छ ।

वर्षासँगै आएको बाढी, पहिरो तथा सडकमा खसेका रुखका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। प्राधिकरणले आइतबार दिउँसो १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्राका क्रममा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

बागमती प्रदेशका अधिकांश प्रमुख सडकमा यातायात प्रभावित भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर, परेवाभिर र टिडरासखानी क्षेत्रमा पहिरो खसेको छ भने चितवनको धारापानीमा सडक भासिएपछि आवागमन रोकिएको छ । कान्ति लोकपथको ललितपुरस्थित बागमती र गोदावरी क्षेत्रमा पहिरो तथा रुख ढलेका कारण सडक अवरुद्ध भएको छ । मकवानपुरको खहरे खोल्सामा लेदो बग्दा पनि यातायात प्रभावित भएको छ ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको घुमाउने, कालढुङ्गा र पिन्थलीवेशी क्षेत्रमा सडक कटान र पहिरोका कारण सवारी सञ्चालन हुन सकेको छैन। सिन्धुलीको बालुवामा बाढीले बाटो अवरुद्ध बनाएको छ भने रसुवागढी, त्रिशूली–मैलुङ तथा काठमाडौँ जोड्ने सडकखण्डसमेत प्रभावित भएका छन्।

गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, तनहुँ, लमजुङ र बागलुङका विभिन्न सडक पहिरोका कारण अवरुद्ध भएका छन्। मन्थली–खुर्कोट, चामे–बेंसीसहर, जोमसोम–कोरला तथा बेनी–जोमसोम सडकखण्डमा यातायात रोकिएको छ । डुम्रे–बेंसीसहर र बेंसीसहर–मनाङ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएको छ भने रामबजार क्षेत्रमा सडक भासिएको छ ।

मध्यपहाडी राजमार्गअन्तर्गत निसीखोला, बडिगाड र ढोरपाटन क्षेत्रमा पहिरोका कारण आवागमन प्रभावित भएको छ । पर्वतको तमादी खोलामा भने पहिरो हटाएपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी करिडोरका राक्से, सिस्नेभिर र तल्लोखाद क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएको छ । कर्णाली प्रदेशमा कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका र तिलागुफा क्षेत्रको तिर्खगाडा खोलामा पहिरो खस्दा यातायात ठप्प छ ।

यसैगरी राप्ती राजमार्गको सल्यान खारखोला खण्ड र भेरी करिडोरको डोल्पा अन्बेदुला खण्डमा पहिरोका कारण यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ । प्राधिकरणका अनुसार अवरुद्ध सडक खुलाउने र पहिरो हटाउने काम विभिन्न निकायको समन्वयमा निरन्तर भइरहेको छ ।

प्रतिक्रिया