शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बीपी राजमार्गको निर्माण कार्य स्थगित

बुधवार , आश्विन ७, २०८३


सिन्धुली,०७ असोज — सम्भावित भारी वर्षा, पहिरो तथा सडक सुरक्षालाई मध्यनजर गर्दै सरकारले बीपी राजमार्गको निर्माणाधीन ट्रयाक विस्तारको काम केही दिनका लागि स्थगित गर्ने तयारी गरेको छ ।

आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानलाई आधार बनाउँदै निर्माण कार्य अस्थायी रूपमा रोक्ने तयारी गरिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् । निर्माणका क्रममा उत्पन्न हुनसक्ने जोखिम र सडकमा देखिन सक्ने चुनौतीलाई ध्यानमा राखेर यातायात सञ्चालनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले यस्तो निर्णय गर्न लागिएको उनले बताएका छन् ।

मन्त्री लम्सालका अनुसार सम्भावित वर्षा, पहिरो तथा सडकको अवस्थालाई विचार गर्दै ट्रयाक निर्माणको काम केही समयका लागि रोक्दा यात्रु तथा सवारी साधनको आवागमनमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुनसक्ने सम्भावित जोखिम कम गर्दै यातायात सञ्चालनलाई सुरक्षित र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ,” मन्त्री लम्सालले बताएका छन् । 

उनले वर्षा तथा पहिरोको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै यात्राका क्रममा विशेष सतर्कता अपनाउन सर्वसाधारण तथा यात्रुहरूलाई आग्रह गरेका छन् । अनावश्यक जोखिम नलिन र मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्नसमेत उनले अनुरोध गरेका छन् ।

बीपी राजमार्ग मुलुकको महत्वपूर्ण यातायात मार्गमध्ये एक हो। वर्षायाममा यस क्षेत्रमा पहिरो तथा सडक अवरोधको जोखिम रहने भएकाले निर्माण कार्य र यातायात व्यवस्थापनलाई मौसमअनुकूल बनाउने तयारी गरिएको हो। सरकारले यात्रुको सुरक्षा र सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायलाई समेत निर्देशन दिएको जनाएको छ ।

प्रतिक्रिया