सिन्धुली,०७ असोज — बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमाडीका अनुसार बुधवार बिहान १०ः०० बजेको समयमा प्रहरी चौकी महेन्द्रझ्याडीबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–४ हाकपारा निवासी ५४ वर्षीय भक्त बहादुर राई रहेका छन् । उनलाई सम्मानित जिल्ला अदालत सिन्धुलीले मिति २०८३ साल भदौ ५ गते गरेको फैसलाअनुसार ३ दिन कैद सजाय तथा १० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
अदालतको फैसलापछि फरार रहेका राईलाई प्रहरीले निजकै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमाडीले जनाएको छ । पक्राउ परेका राईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ ।