बनेपा, – सम्भावित भारी वर्षा, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा चार दिनसम्म रातको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ । नेपाल मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि जिल्ला सुरक्षा समितिले विपद् जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरेको हो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वर्षाका कारण हुनसक्ने सम्भावित क्षति रोक्न सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । निर्णयअनुसार बिहीबारदेखि आइतबारसम्म प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्ग भएर सञ्चालन हुने सबै प्रकारका सवारी साधनको आवागमन रोक लगाइनेछ ।
प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार मौसमको अवस्था, वर्षाको मात्रा र बाढीपहिरोको जोखिमको निरन्तर मूल्याङ्कन गरिनेछ । अवस्था थप जोखिमपूर्ण देखिएमा दिउँसोको समयमा समेत राजमार्गमा सवारी सञ्चालन रोक्न सकिने व्यवस्था गरिएको छ । त्यसका लागि आवश्यक निर्णय लिन जिल्ला प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको उनले बताए ।
राजमार्ग बन्द गर्ने निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्न छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग समन्वय तथा सहजीकरणका लागि अनुरोध गरिने भएको छ । यसबाट यात्रु तथा सवारी साधनको व्यवस्थापन सहज हुने प्रशासनको अपेक्षा छ ।
बैठकले नदी किनार, बाढीको सम्भावना भएका क्षेत्र तथा पहिरोको उच्च जोखिममा रहेका बस्तीका नागरिकलाई सचेत गराउने कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । सम्भावित विपद्बाट सुरक्षित रहन अपनाउनुपर्ने सावधानीसम्बन्धी सूचना स्थानीय सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा प्रवाह गर्न नेपाल पत्रकार महासंघ काभ्रे शाखासँग सहकार्य गर्ने निर्णयसमेत गरिएको छ ।
विपद् उत्पन्न भएको अवस्थामा तत्काल उद्धार, राहत तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले प्रशासन कार्यालयले स्थानीय तहका विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वय गर्दै सम्भावित क्षति न्यूनीकरणका लागि सबै संयन्त्र सक्रिय बनाइएको जानकारी दिए ।
प्रशासनले नदी तटीय क्षेत्र, भिरालो जमिन तथा पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई विशेष सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ । यसैबिच जिल्ला प्रशासन कार्यालयले पनि बिहिवार सूचना जारी गर्दै चार दिनसम्म रातको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने जनाएको छ ।